धरान: भोली (सोमबार) बिहान ९ बजे धरानको कार्यपालिका बैठक बस्ने भएको छ । 

मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बैठक बस्ने जानकारी दिएका छन् । उनले रमाइलो पारामा लेखेका छन्,'जनता जान्न चाहन्छन्, हामी के पकाउनेछौं त भन्ने कुरा '।मेयर साम्पाङको यो स्टाटस आउनुको पृष्ठभुमी धरान १६ स्थित रंगशालामा भइरहेको धरान एक्स्पोसँग जोडिएको छ । व्यापार, व्यवसाय प्रर्वद्धन गर्ने भनेर सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ गतेदेखि धरान एक्स्पो आयोजना गरिरहेको छ । एक्स्पोमा मेलाको झल्को दिने गरि रोटेपिङ, झुलालगायत केही खेलहरु पनि छन् । जसलाई आयोजकले वाल मनोरञ्चन भनेर जिल्ला प्रशासनबाट अनुमति लिएको जनाएको छ । तर, व्यापारिक एक्स्पो भनेर मेला लगाएको भन्दै असन्तुष्ट बनेका मेयर साम्पाङले रोटेपिङ भने चलाउन दिएका छैनन् । 

भोलीको कार्यपालिका बैठकमा रोटेपिङको एजेण्डा पनि प्रवेश हुने भएकोले मेयर साम्पाङको यस्तो स्टाटस आएको अनुमान गरिएको छ । कार्यपालिका बैठकमा मिडियालाई प्रवेश अनुमति दिइदै आएको र लाइभ पनि हुने भएकोले सम्भवतः यो एजेण्डामा हुनसक्ने बहसप्रति इंगित गर्दै मेयर साम्पाङको उक्त स्टाटस आएको हो । बैठकको प्रमुख ३ एजेण्डा रहेको छ । त्यसमा मेला सम्बन्धमा पनि रहेको स्रोतको भनाई छ। एजेण्डामा मेला सम्बन्धमा भनिए पनि यो एक्स्पोको रोटेरिङ चल्न दिने वा नदिने भन्ने बिषय नै भएको स्रोतको भनाई छ । 

रोटेपिङ चलाउन दिनुपर्ने भन्दै केही दिनअघि सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु केही वडाअध्यक्षहरुसहित मेयर साम्पाङलाई भेटेका थिए । वडाअध्यक्षहरुले रोटेपिङ चल्न दिनुपर्ने भन्दै दबाब मेयरलाई दिएका थिए । उक्त बैठकमा वडाअध्यक्ष र मेयरबीच भनाभन परेको थियो । चर्को दबाब परेपछि कार्यपालिका बैठकमा एजेण्डा पेश गर्ने समझदारी भएअनुसार नै यो एजेण्डा पेश समावेश गरिएको हो । मेला सम्बन्धमा बाहेक कार्यपालिका बैठकमा बाटोको मापदण्डबारे र इ रिक्सा दर्ताको कार्यविधिबारे पनि एजेण्डा राखिएको स्रोतले जनाएको छ ।  

व्यापार प्रर्वद्धन गर्ने भन्दै लागेको एक्स्पोमा प्रवेश शुल्क लिएको बिषयले पनि विवाद भएको थियो । यद्यपी, आयोजकले हाल दिउँसो ३ बजेसम्म निशुल्क, ३ देखि ५ बजेसम्म ५० रुपैया शुल्क र साँझ ५ बजेपछि मनोरञ्नात्मक कार्यक्रम ९कन्सर्ट० हुने भएकोले कलाकार हेरेर २ सय वा त्यो भन्दा माथि प्रवेश शुल्क लिने गरेको प्रष्टीकरण दिदै आएको छ । एक्स्पोबाहिर सडकमा पार्किङ गरेको पनि शुल्क लिने गरेको कारण पनि एक्स्पोको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।