धरान: लामो रस्साकस्सी पछि प्रदेश १ ले कोशी प्रदेश नाम पाएको छ । 

बुधबार प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश दुईतिहाई बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मात्र मतदान गरेका थिए । अन्य ६ जना सांसदहरु भने अनुपस्थित भएका थिए । कुल ९३ सदस्यीय प्रदेशसभामा प्रदेशको नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रदेशको नाम कोशी राख्न प्रदेश सरकारमा रहेको नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले पक्षमा मतदान गरेको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मतदान गरेको थियो । एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मतदान गरेका थिए । जनता समाजवादी पार्टीको एक मात्र प्रदेश सांसद तथा मन्त्री निर्मला लिम्बु मतदान प्रक्रिया सुरु हुने बेला हुँदा प्रदेशसभामा प्रवेश हुन नपाउदा मतदानबाट बञ्चित भएकी थिइन् । 

पहिचानका आधारमा नाम राख्नुपर्ने अडान राख्दै आएको माओवादीले समेत कोशीको पक्षमा मतदान गरेको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ले भने प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्ताव गरेको थियो तर उक्त प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको थियो ।