धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङविरुद्ध आन्दोलन जारी राखेकै बेला विभिन्न ७ दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ती जारी गरेको हो । दलहरुले मेयरको निजी सचिवालयमा कार्यरत सर्दुशन लिम्बुमार्फत वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची माग गरेको बिषयमा कार्यपालिका बैठकमा छलफल भएको बिषयलाई लिएर वडा १० का अध्यक्षलाई स्पष्टीकरण सोधेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले गरेको पत्रकार सम्मेलन र सिफारिश पत्र लिन जादा वडा ११ का सन्तोष लिम्बुलाई पक्राउ गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएका छन् ।

दलहरुले जारी गरेको विज्ञप्तीमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुलाई होच्याएर बोल्ने, कार्यपालिका सदस्यहरुले राखेका विचारलाई तोडमोड गरि उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरेको पनि आरोप मेयर साम्पाङलाई लगाएका छन् । यस्तै, केही युट्युब च्यानल तथा सञ्चार माध्यम प्रयोग गरेर कार्यपालिका सदस्यहरुको विचारलाई अतिरञ्जित गराउने तथा प्रोपोगण्डा गर्ने गरेको पनि आरोप विज्ञप्तीमा लगाइएको छ । ‘यसरी नगर प्रमुख जस्तो जिम्मेवार व्यक्ति भएर लगातार दम्भ, अहंकार र अपरिपक्वता प्रर्दशन गर्दा र आफु मात्रै जनप्रतिनिधि हुँ अरु केही होइन भन्ने घमण्डले न्यायप्रेमी सिंगो नगरबासीले नै अपमानित महसुस गरेको छ,’ विज्ञप्तीमा भनिएको छ । 

press-bighyapti-1

press-bighyapti-2

press-bighyapti-3