धरान: धरान ९ मा रहेको विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमबिबिएसको प्रवेश परीक्षा नतिजामा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आफ्ना विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरेको छ । 

कक्षा १२ सम्मको अध्ययन सकेर हालै नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा लिएको एमबिबिएस को प्रवेश परीक्षामा विष्णु स्कुलका २ जना विद्यार्थीले पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयका अनुसार एमबिबिएसको प्रवेश परीक्षामा अधिश खतिवडाले ११ औं स्थानमा र बिक्रान्त गुरागाँईले २०२ औं स्थानमा पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । आफ्नो विद्यार्थीले हासिल गरेको सफलतामा विद्यालयले अभिभावकसमेतलाई निमन्त्रणा गरेर सम्मान गरेको हो । 

विद्यार्थी(अभिभावक सम्मान कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा उनीहरुका अभिभावाकहरूलाई अबिर, खादा, माला र  प्रशंसा पत्रसहित सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक निलम कुमार श्रेष्ठले  विगतमा समेत विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रवेश परीक्षामा उत्कृष्टता हासिले गरेको उल्लेख गर्दै यो उपलब्धी समेत त्यसैको निरन्तरता रहेको बताए । उनले यस्तो उपलब्धी र सफलता विद्यार्थी, शैक्षिक संस्था र अभिभावकको त्रिकोणात्मक सहकार्य तथा प्रयासबाट मात्रै सम्भव रहेको पनि बताए ।