धरान: कोशी प्रदेश नामकरणको विरोधमा आज धरान उपमहानगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ ।
कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले आज उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको हो । कार्यालयबाट बाहिर निस्कन आग्रह गर्दै आन्दोलनकारी पुगेपछि उपमहागनरपालिकाका कर्मचारीहरु सबै बाहिरिएका थिए । कर्मचारीहरु बाहिरिएपछि आन्दोलनकारीहरुले गेटमा ताला लगाएका थिए । उनीहरुले कोशी प्रदेश लेखिएको स्टाम्प पनि गेट अघि जलाएका थिए ।
उपमहानगरपालिकामा ताला लगाउनुअघि वडा नम्बर ५, वडा नम्बर १५ मा पनि ताला लगाएका थिए । यस्तै, वडा नं १२ मा पनि आन्दोलनकारीहरुले ताला लगाएका छन् । धरानका सबै वडा कार्यालयहरुमा ताला लगाउने संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।
आन्दोलनरत पहिचान पक्षधरहरुले कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ)लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।
भिडियो: