धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले उपमहानगरपालिकाभित्र आन्तरिकरुपमा भैरहेको खिचातानीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष विजय श्रेष्ठले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै नगरको विकासको लागि बजेट बनाउनुपर्ने महत्वपुर्ण समयमा बैठक बस्न नसकेको खबरले उद्योगी, व्यवसायीहरुको छाता संगठन दुःखी भएको पनि जनाएका छन् । धरानको विकासको लागि चुनिएका जनप्रतिनिधिहरु दुई ध्रुवमा विभाजित भएर एक आपसमा आरोप, प्रत्यारोप गरिरहदा जनप्रतिनिधिहरुलाई मात्र नभै समग्र उद्योगी, व्यवसायीहरु, धराने जनता र नगरको विकासमा पनि थप गम्भीर असर पर्न जाने निश्चितप्रायः भएको विज्ञप्तीमा उल्लेख छ । 

अध्यक्ष श्रेष्ठले दुवै पक्षलाई लचकता देखाएर वार्ता र संवादको माध्यमबाट समस्याको समाधानतिर लाग्न पनि सुझाव दिएका छन् । आर्थिक बर्षको समाप्ति र अर्को आर्थिक बर्षको शुरु हुने समयमा दुवै पक्षले मेरो गोरुको बाह्रै टक्का भन्ने मनोभावबाट मुक्त हुन पनि संघले आग्रह गरेको छ । साथै, धरानको विकासको लागि एकढिक्का भई संघीय सरकार र प्रदेश सरकारबाट बजेट माग गर्न र महत्वपुर्ण निर्णयको लागि नगरका बैठकहरु सुचारु गर्न र एक आपसको दम्भ त्यागेर विधि, प्रक्रिया वमोजिम अघि बढ्न पनि संघले अनुरोध गरेको छ । 

sunsari