धरान: विभिन्न राजनैतिक दलका युवा संगठनमा आवद्ध युवाहरुले मेयर हर्क साम्पाङलाई ८ वटा प्रश्न गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
आज एमाले निकट राष्ट्रिय युवा संघ, नेपाली काङ्ग्रेस आवद्ध तरुण दल, माओवादी आवद्ध वाईसीएल, संघीय लिम्बुवान आवद्ध लिम्बुवान युवा मंच र जसपा आवद्ध समाजवादी युवा सङ्गठनले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन उपमहानगर पुगेका युवाहरुलाई सुरुमा सुरक्षाकर्मीहरुले मेनगेट भित्र प्रवेश गर्न नदिदा केहीबेर तनाव भएको थियो । पछि मेयर साम्पाङ आफै गेटसम्म आएर ज्ञापन पत्र बुझेका थिए ।
युवा संगठनहरुले बुझाएको ज्ञापन पत्रमा मेयर साम्पाङलाई उठाएका प्रश्नहरु यस्ता छन् :
१. खानेपानी समस्या समाधानका लागि तपाइले गरिरहनु भएका कामहरु सकारात्मक छन् । तर, कोकाहा, सर्दु, खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रकृया, सहमति र समग्र परियोजनाको आधारहरु के के हुन् ?
२. धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाँई नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ बोर्डले हालसम्म गरेका कामहरुको बैधानिकता के हो ? बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौं खर्च कसरी गरिरहेको छ ? खानेपानीका विभिन्न परिजनाहरुका सन्दर्भमा कस्ता कस्ता निर्णयहरु भएका छन् ? र बोर्डको आयव्यय विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन ? बोर्डको अध्यक्ष अहिलेसम्म किन चयन गर्न सकिएन ?
३. कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरुको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ? ।
४. धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाँईकै प्रस्तावमा पारित गरि खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार होकि होइन ? अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफै चाँही पारदर्शी हुनु पर्ने कि नपर्ने ? ।
५. कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ?
६. वडाका अध्यक्षहरु पनि तपाँइजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरु हुन् । वडा अध्यक्षहरुलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाँइको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाइको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाइले कहिले माफि माग्नुभयो ?
७. धरान र इटहरीको सिमा विवाद पूर्ववर्ती नगर प्रमुखहरु भएकै समयदेखिको हो । सिमा विवाद चाँडै किनारा लागाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरुलाई कहिले जानकारी गराउनु भएको थियो ? यसअघि पनि सिमा विवाद भएको र त्यसबेला दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन ? धरान उपमहानगरपालिका तर्फबाट दलहरु, पूर्व जनप्रतिनिधिहरु, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षिसंग कहिले छलफल गर्नुभयो ?
८. नियमित कार्यपालिकाको बैठक अवरोध हुनु, धरानको विकासका समग्र प्रकृयामा अवरोध आउनु, धरानका बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा म प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोँच मनमा आउँछकी आउदैन होला ?
भिडियो: