धरान: धरानको कार्यपालिका बैठक आज (बिहिबार) पनि बस्न सकेन । 

दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा मात्र उपस्थित भए । वडा नं ४ का अध्यक्ष पनि आएका थिए, तर उनले औपचारिकरुपमा आफ्नो उपस्थिति जनाउन मानेनन् । चैत १ गते एजेण्डामा प्रवेश नगरि स्थगित भएको बैठक त्यसयता पनि बस्न नसकेको यो तेस्रो पटक हो । मेयर साम्पाङले आज पनि बैठकमा उपस्थित नभएर वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आफ्नो कर्तव्य पुरा नगरेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन पनि आग्रह गरेका छन् ।

साथै, मेयर साम्पाङले कार्यपालिका बैठकलाई वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिष्कार गरिरहेमा तोकआदेशकै भरमा चलाउने पनि बताएका छन् । उनले आगामी आर्थिक बर्षको बजेट तयारी गर्ने र कार्यपालिका, नगरसभाबाट पारित नभए पब्लिक स्कुलको मैदानमा आमजनता भेला गरेर अनुमोदन गर्ने पनि अभिव्यक्ति दिए । उपमेयर बेघाले भने आफुले निरन्तर मिलाउन प्रयास गरिरहेको बताए । वडाअध्यक्षहरुलाई व्यक्तिगतरुपमा भेट गरिरहेको जनाउदै उनले मेयर र वडाअध्यक्ष दुवै पक्षलाई सच्चिएर अघि बढ्न पनि आग्रह गरे । 

dharan mayor

गत चैत १ गतेको बैठकमा मेयर साम्पाङका स्वकिय सचिवले वडाअध्यक्षहलाई लेखेको पत्रको बिषयले बैठक अघि बढ्न नसकेपछि मेयरले स्थगित गरेका थिए । त्यसपछि, वडाअध्यक्षहरुले ५ वटा माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए । मेयर र वडाअध्यक्षहरुको द्धन्द मिलाउने प्रयास भएपनि गाँठो भने फुकिएको छैन । पछिल्लो समय मेयर र वडाअध्यक्षहरुबीच सम्बन्ध सुधार हुनुको साटो दुरी झन् बढ्दै गएको छ । वडाअध्यक्षहरुले कार्यपालिका बैठकमा आउने वातावरण तयार हुनुपर्ने अडान राख्दै आएका छन् । त्यसको लागि पहिला आफ्नो मागहरु सम्बोधन हुनुपर्ने उनीहरुको भनाई छ । यता, मेयर साम्पाङले भने मागहरु औपचारिकरुपमा थाह नपाएको र भए पनि कार्यपालिका बैठकमा नै छलफल हुने बताउदै आएका छन् । 

भिडियो: