धरान: पुर्वमेयर मनोज मेन्याङ्बोले मेयर हर्क साम्पाङका समर्थकहरुलाई आफुले पद, प्रतिष्ठा, हैसियतको दुरुपयोग गरेर भ्रष्टचार गरेको एक रुपैया मात्र भएपनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । 

पुर्वमेयर मेन्याङ्बोले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पत्तिमा सार्वजनिक पद धारण गरेर र सामाजिक सेवाका नाममा भ्रष्टचार गरेको एक रुपैया प्रमाणित गर्न चुनौती दिएका हुन् । पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङका समर्थकहरुलाई ‘केही झोले’ को संज्ञा दिदै भनेका छन्,‘मेरो सम्पत्ति छानबिनको माग मेयर सामु राखेका रहेछन् । म चुनैती दिन चाहन्छु, मेरो सम्पत्तिमा सार्वजनिक पद धारण गरेर र सामाजिक सेवाका नाममा पद, प्रतिष्ठा र हैसियतको दुरुपयोग गरि भ्रष्टचार गरेको एक रुपैया प्रमाणित गरेर देखाउ !’

बैशाख ११ गते मेयर साम्पाङका समर्थकहरु रहेको स्वतन्त्र नागरिक समाज र जनसरोकार मञ्चले पुर्वमेयर मेन्याङ्बोसहितका पुर्वजनप्रतिनिधि, वर्तमान केही वडाअध्यक्षहरु र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न मेयर साम्पाङलाई निवेदन दिएका थिए । उक्त निवेदनलाई मेयर साम्पाङले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएर दर्ता गराएका छन् ।