धरान: नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई दिएको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको जनाएको छ ।

महासंघका सचिव ध्रुव ढकालले शुक्रबार प्रेश विज्ञप्ती जारी गर्दै बिहिबारको कार्यपालिका बैठक बस्न नसकेको बिषयमा समाचार संकलन गर्न पुगेका पत्रकारले प्रश्न गर्दा पुर्वाग्रहीढंगले तपाई कुन पार्टीको पत्रकार भनेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख छ । महासंघले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न पनि माग गरेको छ । 

मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम ढंगले जवाफ दिनुपर्नेमा सार्वजनिकरुपमा धम्क्याउन खोज्नु सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघले विज्ञप्तीमार्फत चिन्ता व्यक्त गरेको छ । 

यस्तै, मेयर साम्पाङको व्यवहार एवं कार्यशैलीले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम मेयरले लिनुपर्ने पनि महासंघ सुनसरीले प्रष्ट पारेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा सार्वजनिक पदमा बसेकाको धकीबाट विचलित नहुने भन्दै विज्ञप्तीमा भनिएको छ, ‘मेयर साम्पाङले पत्रकारमाथि गर्दै आएको कार्यशैली महासंघ जिल्ला शाखा कडा शब्दमा निन्दा गर्दछ ।’

fnj