धरान: बराहक्षेत्र नगरपालिकाले धरानको कार्यपालिका बैठकले निर्णय गरेमा मात्र कोकाहाको पानी ल्याउन दिने अडान राखेपछि मंगलबार हुने भनिएको द्धिपक्षीय सम्झौता हुन सकेन ।

मेयर हर्क साम्पाङले खानेपानीको निर्णय गर्ने अधिकार गत माघ १४ गतेको कार्यपालिका बैठकले नै खानेपानी बोर्ड र आफुलाई प्रत्यायोजन गरिसकेको जानकारी गराएपनि बराहक्षेत्रले स्वीकार गरेन । द्धिपक्षीय बैठक अघि मंगलबार बिहानै बराहक्षेत्रको मेयरले राखेको राजनीतिक दलहरुको बैठकले पनि हालको मितिको धरान उपमहानगरपालिकाको र धरान खानेपानी बोर्डको सँस्थागत निर्णय हुनुपर्ने निर्णय गरेको थियो । 

धरानका मेयर र वडाअध्यक्षहरुबीचको द्धन्दले कार्यपालिका बैठक बस्न सकेको छैन । यो बेला कार्यपालिकाको पुरानो निर्णय स्वीकार नगर्ने र नयाँ निर्णय गर्नुपर्ने बराहक्षेत्रको अडान राजनैतिक उद्देश्य प्रेरित भएको टिप्पणी धरान उपमहागनरपालिकाका कानुनी सल्लाहकार जे.के.साम्पाङ राईले बताए । उनका अनुसार यसअघि बैशाख १६ गतेको बैठकमा बराहक्षेत्रले ४ बुँदा माग मात्र राखेको थियो । तर, आजको बैठकमा भने १२ बुँदे माग तथा सर्तहरु राखेको थियो । ‘अस्ति ४ बुँदा थियो, आज १२ बुँदा माग राखिएको रहेछ । धेरै कुरा आयो, राजनीतिक गन्ध पनि हो कि भन्ने कुरा पनि उठ्यो । अब यो बिषयलाई राजनीतिकढंगबाट नै समाधान गरेर जाउ भन्ने भयो ।’

कानुनी सल्लाहकार साम्पाङका अनुसार धरानले सँस्थागत निर्णय गर्ने कुरामा खानेपानी बोर्डको अध्यक्ष पनि मेयर नै भएको र कार्यपालिका बैठकले नै अख्तियारी दिइसकेकोले नगर प्रमुखले नै जिम्मा लिने कुरा धरानले राखेको थियो । तर बराहक्षेत्रले कार्यपालिकाबाट फेरि निर्णय हुनुपर्छ भन्ने अडान राखेपछि कुरा मिल्न नसकेको उनले बताए । ‘अब जिल्ला समन्वय समितिका सभापतिले खानेपानीको बिषयमा मात्र धरानको कार्यपालिकासँग सम्बन्धी सदस्यहरुलाई बोलाएर गृहकार्य गर्ने कुरा भएको छ, उहाँले भोलीदेखि नै पहल गर्नुहुन्छ,’उनले भने ।

उपमेयर अइन्द्रबिक्रम बेघाले अर्को छलफल गर्ने गरि छलफल भएको बताए । उनले पनि जिल्ला समन्वय समितिले एक खालको राजनीतिक सहमति गराउने गरि समझदारी भएको बताए । ‘खानेपानी जनताको मुद्दा हो, यसलाई राजनैतिक मुद्दा बनाउनुहुदैन । अब जिल्ला समन्वय समितिले एक खालको राजनैतिक सहमति गराउने भन्ने छ,’उनले भने ।