धरान: शिक्षा मन्त्री अशोककुमार राई र धरानका मेयर हर्क साम्पाङबीच शुक्रबार धरानमा भेट भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिथि गृहमा शुक्रबार साँझ भेट भएको हो । उक्त भेटमा मेयर साम्पाङले आगामी बजेटमा धरानको योजना समेट्नको लागि योजनाहरु पेश गरेकोबारे मन्त्री राईलाई स्मरण गराएका थिए । मन्त्री राईले चतरा धरान खानेपानी आयोजनालाई नीति तथा कार्यक्रममा नै राख्न खानेपानी मन्त्रालयलाई आग्रह गरेको बताए । हाल खानेपानी मन्त्री नियुक्त नभएको र मन्त्रालय प्रधानमन्त्री मातहतमा नै भएपनि सचिवसँग आफ्नो कुरा भएको पनि मन्त्री राईले जानकारी दिए ।

यसैगरि, मन्त्री राईले धरानलाई एउटा मात्र प्रोजेक्ट दिने भए मंगलबारेदेखि विष्णुपादुका भएर आहाले हुदै तमोर भएर सहिदभुमी गाउँपालिका जोड्ने सडकलाई राख्न सम्बन्धित मन्त्रीलाई आग्रह गरेको जानकारी दिए । यो सडक योजनाले धरान २० लाई पनि सेवा दिने र धनकुटाको सहिदभुमी क्षेत्रलाई पनि सेवा पुग्ने मन्त्री राईले बताए । ‘खोकु छिन्ताङको सुन्तला एक घण्टामा ताजा यहाँ आइपुग्छ । यहाँको सेवा उहाँहरुले लिन पाउने, त्यहाँको कृषि उपजले यहाँ बजार पाउने । यो बाटोको त्यो महत्व छ,’ मन्त्री राईले भने ।
यस्तै, मन्त्री राईले सहरी विकास मन्त्रालयले सभागृहलाई मर्मतसम्भारको लागि बजेटमा समेट्ने पनि जानकारी दिए । मन्त्रीले नै मेयर साम्पाङले योजना माग गरेको भनेर सम्झिरहेको भन्दै मन्त्री राईले भने,‘मन्त्री ज्युले पनि सम्झिरहनुभएको छ, त्यो त म राख्छु भन्नुभएको छ ।’
भिडियो:







