धरान: मेयर हर्क साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, पुर्वकेन्द्रीय उपाध्यक्षद्धय हर्ष सुब्बा, किशोरकुमार कार्कीलगायत पत्रकारहरुको टोलीले मेयर साम्पाङलाई उनकै कार्यकक्षमा पुगेर ध्यानाकर्षण गराएको हो । साथै, महासंघले पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न पनि ध्यानाकर्षण गराएको छ । पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त आग्रह गर्दे महासंघले अन्यथा चरणवद्ध आन्दोलनमा ओर्लन बाध्य हुने पनि चेतावनी दिइएको छ ।

मेयर साम्पाङले श्रृङ्खलाबद्धरूपमा पत्रकारलाई दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति दिदा पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै महासङ्घ सुनसरीले प्रेसले आलोचनात्मक टिप्पणी गर्दा विरोधको अर्थमा बुझ्नु गलत भएको पनि जनाएको छ । साथै, कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सुरक्षित रहेको पनि मेयर साम्पाङलाई महासंघले ध्यानाकर्षण गराएको छ । 

harka sampang

‘पत्रकारलाई निसाना बनाएर तपाईंले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको ठहर गर्दै यसप्रति दुःख व्यक्त गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘आप्mना नागरिकहरूको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको स्थानीय सरकार प्रमुखबाट नै पत्रकारले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो । सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुख आफै स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौँ ।’

मेयर साम्पाङले आफ्नो अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी नभएको तर केही पत्रकारहरुसँग असमझदारी भएको बताए । उनले आफ्नो विरोधमा लेख्न हुदैन भनेर कसैलाई दबाब नदिएको तर भइरहेको राम्रो कामबारे पनि मिडियाले चर्चा गर्नुपर्ने बताए । उनले ध्यानाकर्षण पत्रको लिखित जवाफ ३ दिनभित्र नै दिने पनि बताएका थिए । 

भिडियो: