धरान: विकास कार्य रोकिएको भन्दै धरान वडा नं १७ का विभिन्न टोल विकास संस्थाहरुले आइतबार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

वडा नं १७ का विभिन्न ४१ वटा टोल विकास संस्था (टिएलओ)हरुले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । टिएलओहरुले विकासको लागि वडाबाट सिफारिश लिएर उपमहानगरपालिका पुग्दा वडाअध्यक्षलाई पठाइदिनु भनेर फर्काइदिने गरेको भन्दै मेयर हर्क साम्पाङ र वडाअध्यक्षको झगडाले विकास कार्य रोकिएको ज्ञापन पत्रमा उल्लेख छ । ‘हाम्रो १७ नम्बर वडाभित्र बसोबास गर्ने जनताको चाहना र भावना समेट्नेछु भनि तपाईलाई चुनावमा जिएको होइनौं र ? तर अध्यक्ष ज्यूको नगर प्रमुखसँग के पर्यो वा के भयो ?’ पत्रमा भनिएको छ,‘हामीलाई केही सरोकार भएन, हाम्रो सरोकार भनेको वडा नं १७ हो, त्यसको नेतृत्व तपाई हो ।’

टिएलओहरु वडाअध्यक्ष मनोज भट्टराईलाई ज्ञापन पत्र बुझाउन गए पनि उनी कार्यालयमा भेटिएनन् । अध्यक्ष भट्टराई विदामा बसेको कारण कार्यवाहक अध्यक्ष मनिष बिष्टलाई टिएलओहरुले ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले वडाअध्यक्षलाई छिटो उपमहानगरपालिका गएर १७ नम्बर वडाको बजेट पास गर्न आग्रह गर्दै ३ दिनभित्र जानकारी गराउन पनि अनुरोध गरेका छन् । तीन दिनभित्र जवाफ नआए कडा आन्दोलन गर्ने र कार्यालयमा ताला पनि लगाउने उनीहरुले चेतावनी दिएका छन् । 

भिडियो: