धरान: कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रीपरिषद बैठकले प्रदेश खेलकुद बोर्डको सदस्य सचिव वाग्लेलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेले सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस बिषयमा २ पटकसम्म स्पष्टीकरण माग गर्दा पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएकोले पदबाट हटाउने निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
यस्तै, बैठकले ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराउने पनि निर्णय गरेको छ । पीडित बालिकाको किर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ ।यसैगरि, आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत एक करोड पचास लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय पनि बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विष्टले जानकारी दिए ।