धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए । त्यसपछि शिशा प्रहार गर्ने ती विद्यार्थी तीन तला माथिबाट आफै खसेर गम्भीर घाइते भएको पनि डिएसपी मल्लले बताए । ‘शिशाले प्रहार गरेर अर्काे विद्यार्थीलाई घाइते बनाएको र तीन तलामा गएर आफै खसेर गम्भीर छन् । उनको आइसियुमा उपचार भइरहेको छ,’डिएसपी मल्लले भने ।
प्रहरीका अनुसार शिशाको टुक्राले प्रहार गर्दा गोरखा घर भएका विद्यार्थी घाइते भएका छन् । उनको ढाड र अनुहारमा चोट भएपनि खतरामुक्त छन् । घटनास्थलबाट रगत लागेको शिशाको टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । दुवै एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन्, र दुवै साथी भएको पनि खुलेको छ । घटना र कारणबारे अनुसन्धान भइरहेको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।