धरान: राष्ट्रिय जनगणनाको जाति, भाषा र धर्मको तथ्यांक सार्वजनिक हुँदा युमा धर्म, मष्टो धर्म र सिङ्साबा जातिको तथ्यांक सार्वजनिक नभएकोमा सम्बन्धित जाति र संघसंसस्थाहरुले असन्तुष्टी प्रकट गरेका छन् ।

मष्टो धर्म सँस्कृति संरक्षण समिति, शिङ्सा कल्याण केन्द्र धरान र युमा साम्यो महासभा नेपालले पत्रकार सम्मेलन गर्दे असन्तुष्टी प्रकट गरेको हो । राष्ट्रिय जनगणनाको जेठ १९ गते सार्वजनिक भएको जातजाति, भाषा तथा धर्म सम्बन्धी तथ्यांकीय नतिजामा युमा धर्म, मष्टो धर्म र सिङ्सा समुदायको जातिमा सिङ्साबा तथ्यांक उल्लेख नभएको गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मलेनमा जारी विज्ञप्तीमा उल्लेख छ ।

जनगणनामा लाखौं संख्यामा युमा धर्म तथा मष्टो धर्म लेखिएको र हजारौं संख्यामा सिङ्सा समुदायले जातीमा सिङ्सवा लेखाएको भएपनि तथ्यांक सार्वजनिक नगरिएको भन्दै गम्भीर बनाएको पनि विज्ञप्तीमा उल्लेख छ । १२ औं राष्ट्रिय जनगणना २०७८ मा जातिमा याक्थुङ/लिम्बु, मातृभाषा र पुर्खाको भाषामा याक्थुङ/लिम्बु लेखाउन युमा साम्यो नेपालको पहल सफल भएको र हजारौं, लाखौंको संख्यामा जनगणनाका उत्तरदाताहरुले लेखाएको युमा धर्मको नामोनिसान राष्ट्रिय तथ्यांक विभागले मेटिदिएको भन्दै असन्तुष्टी प्रकट गरिएको छ ।

यस्तै, खस जाति लगायतको मष्टो धर्म र शिङ्सा समुदायको जातिमा सिङ्सबा लेखिएकोमा आँकण नै नआएको भन्दै घोर आपत्ति पनि जनाइएको छ । साथै, यथासिघ्र सत्यतथ्यको आधारमा यथार्थ र वास्तविक तथ्यांक सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ । तथ्यांक विभागले पनि अबिलम्ब दुरुस्तरुपमा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।