धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले तीन दिनभित्र खानेपानीको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् ।

प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सोमबार निमित्त उपकुलपति समक्ष तीन दिनभित्र खानेपानी व्यवस्थापन गर्न माग गरेको हो । तीन दिनभित्र समस्या समाधान गर्न नसके सामुहिक विदा दिन पनि समाजले माग गरेको अध्यक्ष डा.सेराज खानले जानकारी दिए । उनले भने,‘पानीको व्यवस्थापन तीन दिनभित्र गर्न भनेका छौं । त्यसो नभए सामुहिक विदा दिन पनि माग गरेका छौं ।’

प्रतिष्ठानमा विगत १० दिनयता खानेपानीको चरम अभाव भएको छ । पानीको अभावले आवास, होस्टललगायत क्षेत्रमा मात्र होइन, अस्पताल सेवा पनि प्रभावित भइरहेको छ । प्रतिष्ठानले ट्यांकरबाट पानी मगाएर समाधान गर्ने प्रयास गरिरहे पनि समस्या उस्तै छ । ‘यति ठुलो अस्पतालमा ट्यांकरले पानी दिएर सम्भव हुदैन । हामी डिउटीमा भएको बेला घरमा पानी आउछ, त्यसबेला के गर्ने ?’ डा.खानले भने,‘विद्यार्थीहरुलाई त झनै समस्या छ । उनीहरुले नुहाउन पनि पाएको छैन । उपचार पनि प्रभावित हुदैछ ।’

bpkihs water crisis copy

प्रतिष्ठानको खानेपानी स्रोत र पाइपलाइन, रिजर्ब वेयरलगायत संरचना छुट्टै भएपनि सञ्चालन, वितरण भने विगतमा खानेपानी संस्थान र हालमा धरान खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । तर, करिब दुई सातादेखि भने बोर्डले माग वमोजिम पानी आपूर्ति गर्न सकेको छैन । यसले प्रतिष्ठानका कर्मचारी, डाक्टर र विद्यार्थीहरुको आवास क्षेत्रमा समस्या छ भने अस्पताल सेवामा पनि प्रभावित बनाएको छ । प्रतिष्ठानमा दैनिक ४० लाख लिटर पानीको माग छ ।

प्रतिष्ठानको बिग्रेको पम्प मर्मत गरेर जडान गर्न गए राती (आइतबार) बिहान ३ बजेसम्म अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद आफै पनि जंगलमा थिए । खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल पनि थिए । बिहान ३ बजेतिर पम्प जडान भएर पानी आउन थालेपछि इञ्जिनियरसहितको टोलीसँग उनी फर्किए पनि बिहान पानी वितरण हुन सकेन । प्रतिष्ठानका अस्पताल प्रशासन प्रमुख अशोक साहका अनुसार पम्प जडान गरेर पानी आएपनि पछि जंगलमै रहेको ५ लाख लिटरको रिजर्ब वेयरसम्म पनि पानी पुग्न सकेन । ‘बिहान ८ बजेबाट पानी आउछ भन्ने थियो, तर रिजर्ब वेयरसम्म नै पानी आइपुगेन । प्रेसरको कमी भयो कि भन्ने छ,’साहले भने,‘यो बिषयमा प्रतिष्ठान व्यवस्थापन, पदाधिकारीहरु एकदमै चिन्तित हुनुहुन्छ ।’