धरान: करिब २२ बर्षअघि तत्कालिन पाँचकन्या गाविस वडा नं २ (हाल धरान वडा नं ६ पानवारी) मा एक व्यक्तिको हत्या भएको थियो । २०५८ सालमा भएको उक्त घटनामा सीता थापाले जाहेरी दिएकी थिइन् ।

सोही घटनामा संलग्न भनिएका स्थानीय माया सार्कीका श्रीमान् सार्की कान्छा भन्ने लालबहादुर सार्की फरार थिए भने अन्य व्यक्तिहरु पक्राउ परेर कानुन बमोजिम कैद भुक्तान पनि गरेर छुटिसकेका छन् । करिब एक साताअघि प्रदेश प्रहरी कार्यालयको रिट टोलीले पानवारीका लाखबहादुर सार्कीलाई साँझ ७ बजेतिर पक्राउ गर्यो । उनी २२ बर्षअघिको घटनामा संलग्न रहेर फरार भएका सार्की कान्छा भन्ने लालबहादुर सार्की भएको प्रहरीको दाबी थियो । तर, पक्राउ परेका व्यक्ति लाखबहादुर सार्की भएको र उनी प्रहरीको फरार सुचीमा रहेका लालबहादुर सार्की नभएको परिवारजनको दाबी छ । उनको परिवारले नागरिकता, श्रीमतिको नाम, आमा बुबाको नामसमेत नमिलेको तर प्रहरीले जर्बजस्ती निर्दोषलाई कारागार चलान गरेको जनाएको छ ।

सार्कीलाई पक्राउ गरेको राती करिब ११ बजे तत्कालिन पाँचकन्या गाविस वडा २ का अध्यक्षसहित वर्तमान वडाका २ जना सदस्यहरुले रोहबरमा हस्ताक्षर गरिदिएपछि भोलीपल्ट नै प्रहरीले कारागार चलान गरेको परिवारको भनाई छ । कर्तव्य ज्यान मुद्दामा सार्की २० बर्षको लागि जेल चलान भएका छन् । परिवारले न्यायको लागि निवेदन दिएपछि मंगलबार जनता समाजवादी पार्टी शिल्पि विशेष समिति प्रदेश १ ले वडा नं ६ को कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा जेल चलान भएका सार्कीकी पत्नी फुलमाया सार्कीले आफ्नो श्रीमान् २२ बर्षदेखि कतै पनि नगएर घरमा नै बसिरहेको र दोषी भए त्यतिबेला नै किन पक्राउ नगरेर अहिले गरेको भन्दै प्रश्न गरिन् । साथै उनले न्याय दिलाउन पनि माग गरिन् ।

bhupendra bhattrai

स्थानीयबासीले पनि घटना भएको बेलादेखि नै लाखबहादुर सार्की कतै पनि नगएकोले उनी दोषी नहुने बताएका थिए । दोषी भए प्रहरीले फरार भनेको व्यक्ति गाउँघरमा नै किन बस्थे ? भन्ने प्रश्न स्थानीयबासीको छ । रोहबरमा राती हस्ताक्षर गरेका वडा नं ६ का सदस्यहरुले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो भन्ने आसयमा राती साह्रै दबाब आएपछि आफुहरुले हस्ताक्षर गरेको स्वीकार गरेका थिए । उनीहरुले निर्दोष व्यक्तिलाई फसाउने आफुहरुको नीयत नभएको पनि प्रष्ट पारे । वडाअध्यक्ष भुपेन्द्र भट्टराईले प्रहरी प्रशासनको कारण वडाका जनताबीचमा भिडाउने काम भएको भन्दै असन्तुष्टी जनाए । उनले न्यायको लागि पहल गर्ने पनि बताए । 

यता, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले घटनामा संलग्न भएको व्यक्तिबारे पहिला नै मृतकका छोरा, तत्कालिन वडाअध्यक्षले सनाखत गरिसकेको र अहिलेका जनप्रतिनिधिहरु रोहबरमा मात्र बसेको बताए । रोहबरमा बस्न प्रहरीले कुनै आग्रह वा दबाब नदिएको भन्दै डिएसपी मल्लले पक्राउ परेर जेल चलान भएका व्यक्ति निर्दोष भए परिवार कानुनी प्रक्रियामा अदालत जानसक्ने बताए । 

भिडियो: