धरान: कोशी राजमार्गका धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरि गोली प्रहार भएको छ ।

अज्ञात समुहको गोली प्रहारबाट विराटनगर घर भएका २८ बर्षीय रोहित चौधरी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना दिउँसो साढे ५ तिर भएको हो । उनीहरु मोटरसाइकलमा इटहरीतर्फ गइरहेको बेला यो घटना भएको हो ।

रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । उनीहरु धनकुटामा घुमेर घर फर्कदै गर्दा सेउती पुलमा पानी पिउन मोटरसाइकल रोकेका थिए । त्यसैबेला पैदल हिड्दै आएका ३ जना हतियारधारी अज्ञान समुहले लुटपाट गरेर रोहितलाई गोली प्रहार गरेका थिए । घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकी थिइन् । गोली लागेका रोहितको अवस्था चिन्ताजनक रहेको छ ।