धरान: धरानमा खानेपानीको विल तिर्न काउन्टरमा नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । 

खानेपानी व्यवस्थापन बोर्डले दियालो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेर मोवाइलबाटै महशुल तिर्ने सिस्टम लागु गर्न सफ्टवेयर तयार गरेको छ । यो सिस्टम एक साताभित्रमा शुरु हुनेछ । आज (शुक्रबार)देखि धरान १६ स्थित विल काउन्टरमा कम्प्युटर सिस्टमबाट विलिङको शुरुवात गरिएको छ । मेयर हर्क साम्पाङले विलिङ कम्प्युटर सिस्टम र मिटर रिडिङको औपचारिक शुरुवात गरेका थिए । 

अहिलेसम्म कर्मचारीहरुले खानेपानीको मिटर रिडिङ हातले नै लेखेर गर्ने गरेका छन् । महशुल तिर्न उपभोक्ताहरु विल काउन्टरमा नै पुग्नुपर्ने र त्यहाँ पनि हातले नै काम हुने गथ्र्यो । आजदेखि धरान १६ को काउन्टरमा कम्प्युटर सिस्टमबाट विलिङ शुरु भएको छ । मेयर साम्पाङले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त बनाइने बताए । ‘सय रुपैयाको बिल तिर्न डेढ सय रुपैया टेम्पो रिजर्भ गरेर आइराख्नुपर्ने बाध्यता अब हट्छ,’उनले भने । 

सफ्टवेयर तयार गर्ने दियालोका रोशन गौतमले कम्प्युटर सिस्टम वडा १६ को काउन्टरबाट शुरुवात भएको र चाडै वडा १५ र १७ बाट पनि शुरुवात हुने बताए । त्यसपछि, अर्को शुक्रबारसम्म अनलाइन वा मोवाइलबाटै उपभोक्ताहरुले विल तिर्नसक्ने पनि उनले बताए । ‘यहाँबाट आज बिलिङ कम्प्युट सिस्टम शुरु भयो । अरु २ वटा काउन्टरको अनलाइन सिस्टमको काम बाँकी छ, ढिलोमा अर्को शुक्रबारसम्म मोवाइलबाटै विल तिर्ने सिस्टम शुरु हुन्छ,’गौतमले भने ।

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै पानीको महशुल तिर्न सकिने बताए । ‘मिटर रिडरहरुले पनि डिभाइसमार्फत विल प्रिन्ट गरेर दिनुहुन्छ, त्यसको आधारमा घरबाटै भुक्तानी गर्न सक्नुहुन्छ,’उनले भने,‘यहाँ आएर पनि विल तिर्न सक्नुहुन्छ । अब कम्प्युटराइज भएकोले छिटो हुन्छ ।’

भिडियो: