धरान: धरानबासीले पिउने सतह स्रोतको पानीमा कोलिफर्म भएको रिपोर्ट सार्वजनिक भएपछि नगरबासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै खानेपानी बोर्ड र त्यसका अध्यक्ष मेयर हर्क साम्पाङको चर्को आलोचना भइरहेको छ । 

आज (मंगलबार) दिउँसो वडा नं १५ का जनप्रतिनिधि, टिएलओ र राजनीतिक दलका प्रतिनिधिहरुले मेयरलाई भेटेर भालुखोला र सेउतीको पानी वितरण नगर्न माग राखे भने राजनीतिक दलहरुले पनि पानी परीक्षण गर्न र सुद्धिकरण गरेर मात्र वितरण गर्न माग राख्यो । नगरबासीबाट चर्को आलोचना खेपिरहेको खानेपानी बोर्ड रमिते मात्र बनेको हो कि पानी सुद्धिकरण गर्न पनि केही गरिरहेको छ ? यो प्रश्न धरानबासीले गरिरहेका छन् ।

कोलिफर्म भएको रिपोर्ट सार्वजनिक भएपछि मेयर साम्पाङले अन्यले गरेको परीक्षण नमान्ने र आफै पानी परीक्षण गर्ने भन्दै फेसबुकमा पोष्ट गरिरहेका थिए । तर, पानी सुद्धिकरण भएको वा गरिरहेकोबारेमा उनले कुनै पोष्ट गरेका थिएनन् । मंगलबार भने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले खानेपानी सुद्धिकरण गर्न बोर्डले ट्यांकीहरुमा क्लोरिन र फिटकिरी हालिरहेको जानकारी दिए । उनले मापदण्ड अनुसार नै सबै ट्यांकीमा क्लोरिनेशनको काम भइरहेको दाबी गरे । ‘दैनिकरुपमा नै भइरहेको थियो । पुरानो संरचनामा डोजिंग गर्ने प्रविधि भइरहेको थियो । निशाने र भालुखोला ट्यांकीमा फोहोर भएको बेला मात्र गर्ने गरिएको थियो,’उनले भने,‘अहिले प्रत्येक दिन गर्दछौं । बिहान र बेलुकी नै क्लोरिनेशन गछौं ।’

raju pokhrel

पोखरेलले कोलिफर्म भेटिएको रिपोर्ट आएपछि मात्र क्लोरिनेश गर्ने काम नभएर पहिला पनि भइरहेको दाबी गरे । अब भने ड्रम ल्याएर राख्ने र चौबिसै घण्टा लिक्विड क्लोरिन पठाउने तयारी भइरहेको पनि बताए । ‘अहिले बिहान र बेलुकी भइरहेको छ । ड्रम ल्याएर राखेपछि २४ सै घण्टा क्लोरिनेशनको काम हुन्छ,’उनले भने,‘वेवास्ता गरेको होइन, अब निरन्तर हुन्छ ।’ फिटकिरीले फोहोरलाई डल्लो बनाएर थिग्रयाउने पनि उनले बताए । 

मात्रा मिलाएर नहाल्दा पहिला पानीमा पोटास गन्हाउने गरेको पनि पोखरेलले बताए । ‘निश्चित मापन गरेर मात्रा मिलाएर हाल्दा गन्हाउदैन,’उनले भने,‘कोलिफर्म घटाउने विधिहरुमा क्लोरिन हाल्ने, अल्ट्रा भइलेट रेबाट फिल्ट्रेसन गर्ने र उमालेर पिउनुपर्छ । हामी संवेदनशील छौं, उपभोक्ताले पनि घरमा फिल्टर गर्ने, उमाल्ने विधि गर्नुपर्छ । बोर्डले गरिरहेको छ, गर्छ ।’