धरान: एक जना गाउँलेको साथ लागेर भारत असमतिर भाँसिदा पाँचथर, रानीगाउँ हङ्थुवाका मैतबल लिम्बु मात्र २० बर्षका थिए । असम भासिएका उनको पाइलाले आफ्नो मातृभुमीको भुमी टेक्न भने ६० बर्ष पर्खनुपर्यो ।

६ दशकसम्म सम्पर्कविहिन भएका मैतबल अहिले नेपालमा छन् । तर उनको परिचय भने फेरिएको छ । उनी भारतको असममा बस्छन्, र अरुणाञ्चलमा खेती गर्छन् । त्यहाँ उनलाई सबैले जयबहादुर भनेर चिन्छन् । तिनै मैतवल उर्फ जयबहादुर ६० बर्षपछि वृद्ध उमेरमा नेपाल आएका छन् । साहिला भाइ गमबहादुर, बहिनी सुकमाया र कान्छा भाईसँग झण्डै एक महिनाअघि नै भेट भएपनि माइला भाई पदमप्रसादसँग शनिबार (आज) मात्र धरानमा भेट भयो । उक्त भेटमा साइला भाई र बहिनी सुकमाया पनि थिइन् । उनीहरु औधी खुशी देखिए ।

जेठा दाई मैतबल घर छोडेर सम्पर्कविहिन भए पनि परिवारलाई भने उनी कही कतै जिवितै छ भन्ने आशा थियो । लामो समयपछि दाजु भारतको असममा छ भन्ने सुखद खबर आउजाउ गर्ने गाउँलेहरुले सुनाएपनि सम्पर्कमा आउन कठिन भयो । जेठा दाईको खोजीनिधी गरेर घर फर्काउन माइला भाई पदमप्रसादले निक्कै प्रयास र पहल गरेका थिए । 

family

झण्डै २ बर्ष अघि दाजुभाईको फोनमा सम्पर्क भएको थियो । तर न मैतबल यता आए, न यताबाट भाईहरु दाई खोज्दै भेट्न असमतिर जान सके । पछिल्लो समय माइला भाई पदमप्रसाद बेलायत गएका थिए । यता, कान्छा भाई विरामी थिए, र जेठा दाजुसँग भेट्ने तीब्र इच्छा व्यक्त गरे । त्यसपछि मात्र मैतबल उर्फ जयबहादुर आफ्नो मातृभुमीमा आएका थिए । उनी आएको १८ दिनमा नै क्यान्सर पीडित कान्छा भाईको निधन भयो । 

भारत भासिनु अघि १९ बर्षको उमेरमा मैतबलको गाउँमै बिहे भएको थियो । उनी घर छोडेर हिडेपछि श्रीमति पनि घरमा बसिनन् । मैतबलले असममा जयबहादुर बने, र उतै बिहे गरे । उनका २ भाई छोरा र एक बहिनी छोरी छिन् । यता बस्न मन लागेपनि घर व्यवहारको कारण फर्कने बाध्यता रहेको उनले सुनाए । जेठा दाईको भारत फर्कने समय हुन लाग्दा उनका भाईहरु र कान्छी बहिनी भने दाई नेपालमै बसे हुन्थ्यो भन्ने लाग्छ । सम्पर्कमा नभएकै बेला पनि जेठा दाईको लागि गाउँमा पुख्यौली सम्पत्ति (जग्गा जमिन) भाईहरुले छुट्याएर राखिदिएका छन् । ‘कुनै दिन दाजु फर्केला भनेर उहाँले पाउनुपर्ने छुट्याएर राखिदिएका छौं । भविष्यमा भारतमा केही भइहाल्यो भने, खेदिनु पर्यो भने त सम्झिएर आउनुपर्छ । छोरा नातीले पनि सम्झिनुपर्छ,’झापा झिलझिलेमा बस्दै आएका साहिला भाईले भने ।

भाईहरुले जेठा दाजुको नागरिकता बनाइदिन पनि चाहेका छन् । माइला भाई (पदमप्रसाद)का छोरा गणेश लिम्बु आफ्नो बुबाको अथक प्रयासपछि बडा बासँग भेट हुन पाएकोमा खुशी छन् । बुबा, काका र फुपुको बडा बासँगको माया, स्नेह देखेर गदगद भएका उनी बडा (जयबहादुर)को नागरिकता बनाउन हरसम्भव प्रयत्न गर्ने बताउँछन् ।

भिडियो: