धरान: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन (आज) उपसभामुख सृर्जना दनुवार स्वास्थ्य समस्या देखाउदै राजधानी काठमाण्डौं गएपछि सरकार संकटमा परेको छ ।

स्वास्थ्य समस्या देखाएर उपसभामुख दनुवार काठमाण्डौं गएपछि थापा नेतृत्वको गठबन्धन सरकार संकटमा परेको छ । प्रदेशसभा बैठकमा सभामुख र उपसभामुख अनुपस्थित भए अध्यक्ष मण्डलका ४ जना ज्येष्ठ सदस्यबाट बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्नु भन्ने जानकारी पत्र पनि दिएकी छिन् । मन्सुरी नेपाली कांग्रेसका सांसद हुन् । 

कोशी प्रदेशमा सत्ता बहुमतको लागि ४७ सांसदको मत आवश्यक पर्छ । यसअघि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजिनामा गर्न लगाएर बहुमत पुर्याएको थियो । सत्ताको यो खेलमा एक मतको महत्व भएकोले पनि उपसभामुख दनुवार उपचार बहानामा विदा बसेकी हुन् । 

अध्यक्ष मण्डलका ४ सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेकी मालती सुब्बा र राप्रपाका अम्बरबहादुर बिष्टले बैठकमा अनुपस्थिति हुने जानकारी दिइसकेका छन् । अध्यक्ष मण्डलमा कांग्रेसका मन्सुरी र माओवादीकी गीता तिम्सिना सदस्य छन् । मन्सुरीले बैठकको अध्यक्षता गर्नुपरेमा सत्ता गठबन्धनको बहुमत(४७) पुग्दैन । मुख्यमन्त्री थापाले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ वमोजिम प्रदेशसभाको ठुलो दलको हैसियतमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने ढोका खुल्नेछ ।