धरान: धरानमा धार्मिक तथा साँस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्नेतर्फ सर्बत्र चिन्ता व्यक्त भइरहेको छ । यसैसन्दर्भमा बिहिबार धरानका ३ पुर्वमेयर र एक उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भेला भएको थियो । उक्त भेलापश्चात निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वमेयर मनोजकुमार मेन्याङबो र पुर्वउपमेयर मीन कुमार सुब्बाले संयुक्त अपिल जारी गरेका हुन् । उक्त अपिलमा धार्मिक, साँस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गरिएको छ । 

यस्तै, धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्याली निकाल्ने र र्यालीमा सहभागिताको लागि सबैलाई आह्वान पनि गरिएको छ । उक्त र्याली छाताचोकस्थित पुरानो अस्पतालबाट शुरु भएर भानुचोकसम्म पुग्ने उल्लेख छ । त्यसअघि, धार्मिक तथा सास्ँकृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अनुरोध गर्ने निर्णय उक्त भेलाले गरेको छ । साथै, धरानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने पनि निर्णय भएको अपिलमा उल्लेख छ ।

धरानमा पछिल्लो समय मन्दिर सामु चर्च बनेपछि धार्मिक विवाद शुरु भएको थियो । उक्त धार्मिक विवाद साम्य नहुदै गत साता गोरु काटेर खाएको घटनाले धार्मिक तथा साँस्कृतिक विवादलाई थप चर्काएको छ । यो घटनाले आक्रोशित हिन्दु धर्मावलम्बीहरुले भदौ ९ गते धरानमा गौसंरक्षणको लागि भन्दै प्रर्दशन गर्ने तयारीमा जुटेका छन् । यसको लागि धरान बाहिरबाट हिन्दु धर्मका गुरुहरुले धरान आउन आह्वान गरिरहेका छन् । अर्कोतर्फ, गोरुको मासु खान पाउने साँस्कृतिक अधिकार हो भन्दै आन्दोलनरत पक्षले पनि प्रतिरोध गर्ने तयारीमा जुटेका छन् । यसले धरानको धार्मिक, सामाजिक सद्भाव विथोलिने चिन्ता प्रशासन, राजनीतिक दल, बुद्धिजिवि तथा नगरबासीहरुमा छ । 

goru copy