धरान: धार्मिक, साम्प्रदायिक विवादले सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी हुन् । यो समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ ।

प्रशासनले धरान प्रवेश गर्ने चारैतिरको नाकासमेतलाई समेटेर धरानको सबै वडामा निषेधाज्ञा जारी गरेको हो । धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको छ । यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

nised1