धरान:सामाजिक कार्यमा क्रियाशिल रहेको होप धरानले भोक राहतका लागि एक रुपैयाँ सहयोग अभियान शुरुवात गरेको छ । 

संस्थाले सोमबार होटल हाङ्कुक साराङमा औपचारिक कार्यक्रम आयोजना गरि सहयोग अभियान शुरुवातको घोषणा गरेका हुन् । सोही कार्यक्रममा एक सय वर्ष उमेर पुगेकी सूर्यलक्ष्मी श्रेष्ठको तर्फबाट १ लाख रुपैयाँ होप धरानलाई प्रदान गरिएको थियो । उक्त रकम बराबरको डमी चेक श्रेष्ठका तर्फबाट छोरा सूर्यनारायण श्रेष्ठले हस्तान्तरण गरेका थिए । दाता श्रेष्ठलाई होप धरानका अध्यक्ष निश्चल पलिखेले सोही कार्यक्रममा सम्मान पनि गरेका थिए । 

hope

होप धरानका अध्यक्ष पलिखेले दिनको १ रुपैयाको दरले महिनामा ३० रुपैया, बर्षको ३६५ रुपैया सहयोग गर्न सक्ने बताए । यस्तै, १० बर्षको सहयोग गर्न चाहनेले ३६५०, १५ बर्षको ५४७५, आजिवन सदस्य २८ बर्षको १०२२०, बिशिष्ट सदस्य ५६ बर्षका २०४४० र लाइफटाइम एचिभमेन्टको लागि १ लाख सहयोग गर्न सक्ने बताए । यो सहयोग रकम बैंकमा फिक्स डिपोजिट गर्ने र ब्याजको पैसाले तत्काल अग्नीपीडित, बाढी पीडित, पहिरो पीडितलगायत प्रकोप पीडितहरुलाई राहत दिइने अध्यक्ष पलिखेले बताए । 

hope dharan2

कार्यक्रममा होप धरानले अपाङ्गता भएका, अग्निपीडित र क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण पनि गरेका थिए । कार्यक्रममा धरान ६ की अपाङ्गता भएकी अन्जु विश्वकर्मालाई ह्विल चियर प्रदान गरिएको थियो । वडा नं ६ कै आगलागी पीडित राधिदेवी खड्का परिवारलाई नगद ३१ हजार गरिएको थियो । उक्त रकम तुलसा गुरुङले संकलन गरेर सहयोग गरेकी थिइन् । यसैगरि, क्यान्सर पीडित धरान ८ का प्रदीप केप्छाकी मगरलाई पनि सोही कार्यक्रममा २९ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकममध्ये चिसेफायु मिडियाको संयोजनमा ओमानबाट मनमाया राईले २३ हजार ९ सय ८० रुपैयाँ उपलब्ध भएको हो भने होप धरानका अध्यक्ष निश्चल पलिखेले थप ५ हजार प्रदान गरेका थिए । कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । 

hope dharan3

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले होप धरान मानवीय सेवामा धेरै सक्रिय र अग्रणी संस्था भएको बताए । उनले कोरोनाको बेला पनि होप धरानका अध्यक्ष निश्चल पलिखेसँग आफ्नो ज्यानको पर्वाह नगरि संक्रमितहरुलाई उद्दार र उपचारमा खटिएको स्मरण गर्दै जुनसुकै संकटको बेला होप धरानले मानवीय सेवा पुुर्याइरहेको बताए । उनले होप धरानलाई नगद १० हजार सहयोग गर्ने घोषणा पनि गरेका थिए । कार्यक्रममा वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) पनि अतिथिकोरुपमा उपस्थित थिए ।