धरान: धरान ६ स्थित सेहेरा खोलामा आएको बाढीले एक घरमा क्षति पुगेको छ भने डेढ दर्जन घर उच्च जोखिममा परेको छ । 

सोमबार राती आएको बाढीले कटान गर्दा स्थानीयको धानखेतीमा पनि ठुलो क्षति पुगेको छ । खोलामा आएको बाढीले तिब्र कटान गरेपछि खैरेनी पुलबाट दक्षिणा सेहेरा खोला किनारका सुगम सुचना बस्तीका १८ घर उच्च जोखिममा छ । यस्तै, सितल टोलका पनि दुई दर्जन जति घर पनि जोखिममा छन् । बाढीका कारण स्थानीय गोपाल विष्टको काठको घरसहित कुखरा फर्ममा पुर्ण क्षति पुगेको छ । 

बाढीले कमला लिम्बुको ६ कट्ठाको धानखेतमा पूर्ण क्षती पुगेको छ । लिम्बुका अनुसार राती ११ बजे ठुलो बर्षाले कटान गरेर खोला खेतबारीमा पसेको थियो । त्यतिबेला नै धानखेतीमा क्षति पुगेको अनुमान गरेपनि बिहान हेर्दा धानबाली केही नरहेको उनले बताइन् । 

sehara2

संगम सुचना बस्तीका भोग्यबहादुर दर्जीले स्थानीय, प्रदेश सरकारबाट बलियो तटबन्ध निर्माण गरिदिएर जग्गा र बस्ती जोगाइदिन आग्रह गरेका छन् । बाढीले क्षति पुगेपछि बिहान मेयर हर्क साम्पाङ, प्रदेश सांसद रमेश बस्नेत, वडाअध्यक्ष भुपेन्द्र भट्टराईले स्थलगत अनुगमन गरेका थिए । त्यसपछि जेसिबि पठाइदिएर अस्थायी तटबन्ध र खोला च्यानलिङको काम भइरहेको छ । वडाअध्यक्ष भट्टराईले नगरपालिकाबाट तारजाली उपलब्ध गराएपछि श्रमदानबाट अस्थायी तटबन्ध श्रमदानबाटै लगाउने बताए । 

sehara

प्रदेश सांसद रमेश बस्नेतले धरानका विभिन्न खोलाहरुमा नदी कटान नियन्त्रण सँगै करिडोर बनाउने योजना अघि बढाइएको बताए । सेहरा खोलामा करिडोर बनाउनको लागि प्रदेशस्तरीय सडक गुरुयोजनामा प्रस्ताव लगिएको र डिपिआरको चरणमा भएको पनि उनले बताए । सर्दु खोलामा करिडोर निर्माण शुरु भएको र सेउती खोलाको पनि करिडोरको कुरा पहिलादेखि नै छलफलमा रहेको प्रदेश सांसद बस्नेतले बताए । 

भिडियो: