धरान: इटहरी २ की अन्दाजी ४४ बर्षीया यशोदा श्रेष्ठको धरानमा हत्या भएको छ । 

श्रेष्ठको गए राती धरान १७ स्थित साउने बस्तीका टेकबहादुर दर्जीले हत्या गरेको हो । दर्जीले आफ्नै घरमा साँझ करिब ६ बजेतिर हत्या गरेको भएपनि प्रहरीले भने राती ११ बजे मात्र खबर पाएको थियो । श्रेष्ठ र दर्जीबीचमा आर्थिक लेनदेन रहेको र सोही बिषयले हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी नवराज मल्ले जानकारी दिए । तर, दुवैबीचमा कस्ले को बाट पैसा लिनुपर्ने हो भनेर अनुसन्धानबाट मात्र खुल्ने उनले बताए । 

हत्या पछि दर्जीले शव लुकाउने प्रयास पनि गरेको खुलेको छ । मृतकको शव आज बिहान परिवारका सदस्यहरु आएपछि मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । परिवार पक्षबाट जाहेरी आइसकेको र पोष्टमार्टम, अनुसन्धान लगायतको प्रक्रिया अघि बढेको डिएसपी मल्लले बताए । 

dharan murder1

घटनामा संलग्न मुख्य आरोपी दर्जीलाई राती नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । साथै, दर्जीका दुई जना सालोलाई पनि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना सालोको घटनामा संलग्नता भए नभएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । डिएसपी मल्लले भने, प्रारम्भिक अनुसन्धानमा लेनदेनको कुरा छ । तर दुवै पक्षले आफुले पैसा लिनुपनेै हो भनिरहेका छन् । अनुसन्धानबाट नै यथार्थ खुल्छ ।

स्थानीयका अनुसार हत्या आरोपी दर्जी गाडी चालक हुन् । उनी दुई बर्षदेखि मात्र ससुरालीले नै दिएको घरमा बस्दै आएका थिए । गर्भवती श्रीमति र उनी बस्ने घरसँगै जोडिएको उत्तरतर्फको घरमा ससुराली बस्छन् । छिमेकी जय बिकका अनुसार राती ११ बजेतिर दर्जीका ससुरा आएर आपत् पर्यो भन्दै घटनाबारे बताए पछि मात्र प्रहरीलाई खबर गरिएको थियो । आफु हत्या भएको घरमा पुग्दा आरोपी खुला हिडिरेको देखेपछि नै कान्छा सालोले कोठामा थुनेर राखेको पनि उनले बताए । घटना ६ बजेतिर नै भएको र मैले मान्छे मारेकै हो, तपाईहरु चिन्ता नलिनु भन्दै बसेको अवस्थामा भेटेको पनि उनले खुलाए । घरभित्र शव हेर्दा कपडाले पोको पारेको अवस्था देखिएको र प्रहरी आएपछि हेर्दा टाउकोमा चोट देखिएका्े पनि उनले बताए ।