धरान: नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले धरान उपमहानगरपालिका वडा नम्बर ९ का जनतालाई सेवा शुल्क नलिई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

रेडक्रसको सुनसरी जिल्ला शाखा र धरान वडा नं ९ कार्यालयबीच सेवा शुल्क नलिई निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार द्धिपक्षीय सम्झौता भएको छ । रेडक्रसको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ब्लड बैंकमा रगतको विभिन्न परीक्षण, ब्लड ब्याग, ट्रान्सफ्युजनलगायतको एक हजार पचास रुपैया शुल्क लिने गरेको छ । 

नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा वडा ९ का अध्यक्ष रुपेश आचार्य र रेडक्रस सुनसरी शाखाका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा धरान वडा ९ का बसोबास गर्ने मानिसलाई उपचारको क्रममा रगत आवश्यक भए रेडक्रसले व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

redcross1

यसैगरि, रगतको आवश्यकता भएका व्यक्ति धरान वडा ९ बसोबास गर्ने नेपाली नागरिकता भएको वा मतदाता परिचयपत्र भएको हुनुपर्ने पनि उल्लेख छ । विरामीहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल वा धरानबाहिरको कुनै पनि अस्पतालमा उपचारार्थ भर्ना भएकाहरुलाई रगत उपलब्ध गराउनुपर्ने पनि सम्झौता छ भने बर्षको एकपटक अनिवार्य वडा ९ ले पनि रक्तदान कार्यक्रम गर्नुपर्ने उल्लेख छ ।

वडा ९ का अध्यक्ष आचार्यले वडाबासीलाई सेवा पुर्याउन साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई बिशेष राहतको लागि रेडक्रससँग सम्झौता गरिएको बताए । “गम्भीर प्रकृतिका विरामीलाई रगतको आवश्यकता पर्दा धेरै समस्या हुन्छ । आर्थिक अवस्था कमजोर भएकालाई राहत दिने पनि उद्देश्य हो,” उनले भने, “हामी नपाउने ब्लड ग्रुपको लिष्ट राखेर, दाताहरुको रेडर्क लिएर जसरी पनि रगत उपलब्ध गराउनेछौं ।”

रेडक्रस सभापति थापाले वडा ९ का विरामीको नागरिकता प्रतिलिपी वा मतदाता परिचयपत्रको प्रतिलिपी ब्लड बैंकमा पेश गरे तत्काल आवश्यक भएजति रगत उपलब्ध गराइने बताए । तर पछि विरामीका आफन्तले वडा ९ कार्यालयबाट अनिवार्य सिफारिश पत्र भने ल्याउनुपर्ने सभापति थापाले बताए । “हामी वडा ९ का विरामीलाई कति रगत खपत भयो भनेर रेडर्क राख्छौं । सेवा शुल्कवापतको रकम वडा कार्यालयले ६/६ महिनामा बुझाउनुपर्छ,” सभापति थापाले भने,“यो सम्झौताले वडाका जनतालाई धेरै राहत मिल्छ ।”

रेडक्रस सभापति थापाको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रममा रेडक्रस कार्यालय परिसरमा झण्डोत्तलन पनि गरिएको थियो । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुजकुमार घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा पुर्वसभापति टोमप्रसाद आचार्य, शिक्षक नायक भवानी खतिवडाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भिडियो: