धरान: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई बदर गरिदिएपछि उनी पदमुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधिश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पुर्णइजलाशले बिहिबार मुद्दाको सुनुवाई गर्दै मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई वदर गरिदिएको हो । 

सोही पुर्णइजलाशले ४८ घण्टाभित्र प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमाले हो । एमालेको संसदीय दलको नेता हिक्मत कार्की छन् । 

सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित अघिल्लो पटक पनि मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले गैरकानुनी भनेपछि पदमुक्त भएका थिए । सभामुख गौतमलाई राजिनामा गर्न लगाएर पुनः दोस्रो पटक गठबन्धनकोतर्फबाट थापा मुख्यमन्त्री बनेका थिए । उनले भदौ ४ गते विश्वासको मत लिदा उपसभामुख विदा लिएर काठमाण्डौं गएकी थिइन् र बैठकको अध्यक्षता अध्यक्षमण्डलका सांसद इस्राइल अन्सारीले गरेका थिए ।

अध्यक्षता गरेका अन्सारीले पनि मत दिएपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिएको थिए । तर, बैठकको अध्यक्षता गरेका सांसदले मत दिन नपाउने कानुनी व्यवस्था विपरीत मत दिएर विश्वासको मत लिनु गैरसंवैधानिक भएको भन्दै एमालेका संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।