धरान: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन माघ २३ र २४ गते धरानमा हुदैछ । 

धरान १५ स्थित चुम्लुङ हिममा हुने भनिएको कार्यक्रम धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको हलमा हुने भएको छ । अधिवशेनको उद्घाटन सत्रमा एमाले केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङ प्रमुख अतिथिकोरुपमा आउने भएका छन् । युवा संघको अधिवेशनको लागि एमालेका नेता, कार्यकर्ताहरुलाई जति ब्यग्रता र ब्यस्तता छ, कोशी नामकरणको विरोधी पहिचान पक्षधरहरुलाई पनि सक्रिय बनाएको छ । 

पहिचानवादीहरुले एमालेलाई पहिचान विरोधी पार्टीकोरुपमा चित्रण गर्ने गरेको छ, र धरानमा हुन लागेको युवा संघको अधिवेशनको प्रचार सामग्रीमा कोशी नाम उल्लेख गरिएकोले विरोध गर्ने घोषणा गर्दै आएको छ । एमाले र भातृ संगठन भने अधिवेशन पार्टीको नियमित प्रक्रिया भएकोले नरोकिने बताउदै आएको छ । 

सामाजिक सञ्जालमा पहिचान पक्षधरले युवा संघको प्रचार सामग्रीमा कोशी प्रदेश लेखेकोमा विरोध जनाउदै आएका छन् । विरोध भएपनि एमाले र भातृ संगठनले अधिवेशनको तयारीलाई तीब्रता दिइरहेको छ । स्थिति बिग्रन नदिन एमाले र पहिचान पक्षधरहरुबीच वार्ता पनि भइरहेको छ । अनौपचारिकरुपमा समझदारी भएपनि मुर्तरुप भने लिइसकेको छैन । 

एमाले जिल्ला सचिवालय सदस्य नारायण सुवेदीले अधिवेशन पार्टीको नियमित र आन्तरिक प्रक्रिया भएकोले कार्यक्रम गर्न नपाउने भन्नु न्यायोचित नभएको बताए । पहिचान पक्षधरसँग वार्ता, छलफल भएको खुलाउदै उनले एक खालको समझदारी बनेको पनि बताए । ‘एक चरण बस्यौं, उहाँहरुको केही सर्तहरु छन्, र त्यसमा एकखालको समझदारी पनि बनेको छ,’सुवेदीले भने,‘लोकतन्त्रमा राजनीतिक दलहरुले गतिविधि नै गर्न नपाउने भन्ने हुदैन । हामी कार्यक्रम गछौं, राज्यले सुरक्षा दिनुपर्छ । नामकरण प्रदेशसभाको बिषय भएकोले त्यहाँबाट पहलकदमी हुनुपर्छ ।’

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि बिहिबार विज्ञप्ती जारी गर्दै बुधबार दुई पक्षबीच छलफल भएको तर निष्कर्ष निस्कि नसकेकोले कोशी नाम विरुद्ध हुने प्रर्दशनको तयारीमा लाग्न आह्वान गरेको छ । समितिले युवा संघको अधिवेशनको प्रचार सामग्रीमा कोशी नलेख्न र उच्चारण नगर्न, कोशी नाममा हस्ताक्षर गर्ने ८२ सांसदहरुलाई नबोलाउन, क्षितिज थेवेलाई कार्यक्रममा नबोलाउन आयोजकलाई आग्रह गरेको छ । यसैगरि, धनकुटाको राजारानीमा क्षितिज थेवेलाई कालो झण्डा देखाएर विरोध गर्दा पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिनुपर्ने सर्त पनि समितिले राखेको छ । 

कोशी नामकरणको विरोधमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका धरान अध्यक्ष ताजुब लिम्बु पछिल्लो समय धरानको अवस्था संवेदनशील रहेकोले सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘धरानको महोल कसैले पनि बिगार्नुहुदैन । भदौ ९ गते जे हुन लागेको थियो, हामी सबैले सम्हालेर धरानलाई शान्त बनाएका थियौं,’उनले भने,‘संवेदनशील अवस्था भएकोले केही सर्त राखेर छलफल चलाइरहेका छौं ।’

youth1