धरान: धरान १४ विजयपुरस्थित गोपाल मन्दिर र चर्चको विवाद मिलाउन एक समिति गठन गरिएको छ । 

धरान उपमहानगरपालिकामा शुक्रबार भएको बैठकले उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको समिति गठन भएको हो । समितिमा वडाअध्यक्षहरु, राजनीतिक दलका नेतृत्वलाई पनि समेटिएको छ । समितिमा वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराई सदस्य छन् । यस्तै राजनीतिक दलहरुकोतर्फबाट श्याम पोखरेल, नारायण सुवेदी, हर्कजंग एभेङ, ताजुब लिम्बु, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत छन् ।

बैठकले वार्ता, संवाद, सहकार्य र सहमतिबाट द्धन्द व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको उपमेयर बेघाले जानकारी दिए । सोही बैठकले द्धन्द समाधान गर्न पहलको लागि समिति गठन पनि गरेको उनले बताए । ‘अब औपचारिकरुपमा सबै पक्षसँग संवाद शुरु गछौं,’ उनले भने,‘द्धन्दलाई बढाउने होइन, सबैले जित्ने वातावरण बनाउन लाग्छौं ।’ समितिले स्थगलत अवलोकन पनि गर्नेछ भने ओमकार परिवार, मन्दिर पक्ष, चर्च तथा ख्रिष्टियन समाजसँग पनि संवाद गर्ने उपमेयर बेघाले बताए । यस्तै, विभिन्न धार्मिक संघसंस्थाहरुसँग पनि छलफल गर्ने उनले बताए । 

गोपाल मन्दिर नजिकै चर्च निर्माण गरिएपछि धरानमा हिन्दु र ईसाइ धर्मवलम्बीहरुबीच विवाद शुरु भएको थियो । विवाद चर्किएर सद्भाव भड्कने खतरा बढेपछि गोपाल मन्दिर व्यवस्थापन पक्षले विवाद समाधानको लागि पुनः उपमहानगरपालिकामा निवेदन दिएको थियो । उक्त निवेदनलाई मेयर हर्क साम्पाङले न्यायिक समितिमा पठाइदिएपछि उपमेयर बेघाले समाधानको लागि सवै पक्षसँग पहल थालेका थिए । अनौपचारिकरुपमा विभिन्न चरणमा छलफलहरु भएपनि शुक्रबार द्धन्द व्यवस्थापन तथा समाधानको लागि समिति गठन गरिएको हो ।