धरान: उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा आक्रमण गरेको भनिएको घटनामा अनुसन्धानको लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । ‘घटनामा ८ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं । घटनाको तीब्र छानबिन हुदैछ, प्रहरीले काम गरिरहेकै छ,’ उनले भने ।

उपमेयर बेघाका कान्छा भाई बिष्णु बेघा पनि अनुसन्धानको लागि नियन्त्रणमा छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार उनी पक्षका ३ जना र अर्को समुहका ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । गम्भीर घाइते सन्देश राईले नै बेघाको नाम लिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको धरानका डिएसपी नवराज मल्लले पुष्टि गरे ।

उनले भने,‘मुख्य घाइतेले नै बिष्णु बेघा पनि हो भनेपछि नियन्त्रणमा लिएर अनुसन्धान हुदैछ । जम्मा ८ जना नियन्त्रणमा छन्, घटनामा क कस्को संलग्नता छ भनेर अनुसन्धान गर्दैछौं ।’ अन्य पक्राउ पर्नेहरूमा धरान १५ सूर्य बस्तीका अमृत तामाङ, अनिल मगर, सन्दिप राई, बाघबिरे भन्ने सुरज तामाङ, मेनल तामाङ, राज कुमार लिम्बू र दीपेन्द्र राई (सागर)रहेका छन् । 

हिजो (मंगलबार) को घटनाबारे दुवै पक्षको आआफ्नै दाबी छ । शुरुमा बिष्णु बेघाको समुहले आक्रमण गरेको र त्यसपछि अर्को समुहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गर्न पुगेको भन्ने घाइते सन्देश पक्षको दाबी छ भने बेघा पक्षबाट पनि पहिला सन्देश पक्षका युवाहरु हतियारसहित घरमा ढुंगामुढा गर्न गर्न आएको दाबी छ । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिहेको जनाएको छ । 

उपमेयर बेघाले आफ्नो घरमा आक्रमण भएको र समयमै प्रहरीलाई खबर गरेपनि ढिला गरि आएको भन्दै धरानका डिएसपीलाई फोन गर्दै फेसबुक लाइभ गरेपछि यो घटनाले चर्चा पाएको थियो । घटनामा उपमेयर बेघाको भाई बिष्णुको अनुहार र टाउकोमा सामान्य चोट छ । अर्को समुहका सन्देशको भने शरीरको पछाडि कम्मरमा धारिलो हतियारले गहिरो चोट लागेको छ ।