धरान: बैंकमा धितो राखिएको बराहको सम्पत्ति लिलाम हुन नदिन बराह ग्रुप अफ कम्पनी तथा बराह सहकारीका पीडितहरुले अग्रसरता देखाएका छन् ।

बराह पीडित समन्वय समितिले काठमाण्डौं पुगेर सरकोरावाला मन्त्रालय, बैंकका सिइओ, बराह ग्रुपका बोर्डका सदस्यहरुलाई भेटेपछि लिलाम हुन लागेको सम्पत्ति जोगाउन अग्रसरता देखाएका हुन् । पछिल्लो समय बराह पीडित संघर्ष समिति र भूपू सैनिक समितिलाई एकीकरण गरेर समन्वय समिति बनाइएको छ । 

समन्वय समितिका अध्यक्ष एवं पुर्वब्रिटिश आर्मी विष्णुकुमार राईका अनुसार प्राइम बैंकले भदौ अन्तिममा लिलाम प्रक्रिया गर्न लागेको भएपछि आफुहरुको आग्रहमा असोज १० गतेसम्मको लागि समय दिएका छन् । समितिले बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र बैंकका सिइओसँग छलफल गरेपछि निकासको लागि नयाँ कम्पनी खडा गर्ने र सम्पत्तिहरु स्थानान्तरण गर्नुबाहेक अन्य विकल्प नभएको निष्कर्ष निकालिएको पनि अध्यक्ष राईले बताए । 

baraha1

संस्था बन्द अवस्थामा भएकोले ब्याज तिर्न नसकेर सञ्चालक र संस्था कालोसुचीमा छ । यसले गर्दा संस्था चलाउनलाई थप ऋण लिनदिन सम्भव नभएकोले नयाँ कम्पनी दर्ता गरेर मात्र समस्याबाट निकास दिनलाई अरु थप ऋण लिनुबाहेक विकल्प नदेखिएको उनले बताए । नयाँ कम्पनीलाई सम्पत्ति स्थानान्तरण गर्नलाई पनि थाती रहेको नविकरण गर्न, तिर्नुपर्ने कर चुक्ता गरि संस्थालाई सञ्चालनमा ल्याउन हाललाई न्युनतम ६ करोड रकम आवश्यक रहेको निष्कर्षमा पुगेको उनले बताए ।

शनिबार पीडितहरुको भेला गरेर ६ करोड रकम वचतकर्ता तथा लगानीकर्ताबाट नै संकलन गर्ने सहमति पनि गरेका छन् । वचतकर्ता र लगानीकर्ताहरुको अबौं रकम डुब्ने अवस्थामा पुगेको कारण यो बाहेक अन्य केही पनि उपाय नभएको समन्वय समितिका अर्का अध्यक्ष श्यामप्रसाद ढकालले बताए ।

समन्वय समितिका अनुसार रकम संकलन गर्दा रोक्का नभएको संस्थाको स्वामित्वमा रहेको जग्गा सुरक्षा ग्यारेन्टी रहने सहमति पनि भएको छ । साथै, पछि १० प्रतिशत ब्याजसहित उक्त रकम फिर्ता हुने पनि सहमति छ । सहकारीमा वचतकर्ताकोरुपमा मात्र रहेको र सेयर सदस्य नभएकाहरुलाई वैधानिकता दिलाउन ५ हजार १ सयमा सेयर सदस्य बनाउदै लैजाने पनि सहमति भएको समन्वय समितिका दोस्रो अध्यक्ष राईले जानकारी दिए ।

भिडियो:

समन्वय समितिका उपाध्यक्ष रामकुमार लिम्बुका अनुसार १ करोडसम्म रकम वचत गर्ने ६४ जनाबाट ९५ हजारको दरले रकम उठाउदा ६० लाख ८० हजार उठ्नेछ भने ७० लाखदेखि ८० लाखसम्म रकम राख्ने ४५ जनाबाट ७५ हजारको दरले ३३ लाख ७५ हजार रकम संकलन हुने अनुमान गरिएको छ । यस्तै, ५० लाखदेखि ७० लाखसम्म राख्ने १२० जनाबाट ४५ हजारको हिसाबले उठाउदा ५४ लाख रकम जुट्नेछ भने ३० लाखदेखि ५० लाख जम्मा गर्ने ३११ जनाबाट ३५ हजारको दरले दिदा १ करोड ८८ लाख रुपैया संकलन हुने अनुमान गरिएको लिम्बुले बताए । 

यस्तै, २० देखि ३० लाख राख्ने ४६७ जनाबाट २५ हजार दरले उठाउदा १ करोड १६ लाख ७५ हजार उठ्नेछ भने १० देखि २० लाख रकम राख्ने १३५३ जनाबाट १७ हजारको दरले रकम उठाउदा २ करोड २० लाख रकम संकलन हुनेछ भने ९ लाख रकम जम्मा गर्ने ५८ जनाबाट १० हजारको दरले उठाउदा ५ लाख ८० हजार रकम जुट्ने पनि उनले बताए । कुल २४१८ जनाबाट ६ करोड ९ लाख ९६ हजार रकम संकलन गर्ने योजना रहेको पनि उनले बताए । एक साताभित्र यो रकम उठाउन नसके बैंकले लिलाम प्रक्रिया अघि बढाउने उनले बताए । 

baraha agreement

baraha agreement2

baraha agreement3