धरान: धरानको वडा नं १६ मा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।

प्रहरीका अनुसार हिजो भएको घटनामा घाइते हुनेमा उद्देश्य सुब्बा र कृष्ण डंगोल रहेका छन् । खुट्टामा चोट लागेका उद्देश्य उपचार पश्चात हिजो राती नै डिस्चार्ज भइसकेका छन् भने कृष्णको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । हातमा चोट लागेका उनको पनि अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे जानकारी पाएपछि हिजो राती नै उपमेयर अइन्द्रबिक्रम बेघा घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न आकस्मिक कक्षमा पुगेका थिए । 

उक्त घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । तर उनले आफु घटनामा संलग्न नभएको वयान दिएका छन् । घाइतेहरु उपचार गराउन वीपी प्रतिष्ठानको आकस्मिक कक्ष पुगेपछि मात्र प्रहरीले घटनाबारे थाह पाएको थियो । घाइतेहरुका अनुसार ५,६ जनाको समुहमा आएका युवाहरुले बसिरहेको बेला एक्कासी आक्रमण गरेको वयान दिएका छन् । घटनाबारे थाह पाएपछि घटनास्थल पुगेको प्रहरीले स्थानीयसँग सोधपुछ गर्ने क्रममा एक जना नियन्त्रणमा लिइएको जनाएको छ ।