धरान: नेपालको संविधान २०७२ जारी भएको ८ औं बर्ष पुरा भएको अवसरमा बुधबार संविधान दिवस मनाउदै गर्दा ईलाका प्रहरी कार्यालय धरानका डिएसपीविरुद्ध मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् ।

संविधान दिवसमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागीताको लागि पत्राचार गरेपनि डिएसपी सहित जनपद प्रहरीको उपस्थिति नभएपछि मेयर साम्पाङ डिएसपी नवराज मल्लविरुद्ध खनिए । उनले पत्र पठाएर पनि प्रभातफेरिमा ईलाका प्रहरी कार्यालयको सहभागिता नभएकोमा असन्तुष्टी प्रकट गर्दै धरानको प्रहरी संविधान नमान्ने मान्छे (डिएसपी) को नेतृत्वमा छ कि ? भन्दै प्रश्न पनि गरे । ‘पत्र पठाउदा पनि ईलाका प्रहरी कार्यालय किन र्यालीमा सहभागी भएन ? प्रहरीले संविधान मान्दिन भन्या हो ? कि स्थानीय सरकारले भनेको मान्दिन भन्या हो ?’ प्रभातफेरि पछि भानुचोकमा आयोजित झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले भने ।

मेयर साम्पाङले गृहमन्त्रीलाई पत्राचार गरेर डिएसपी सरुवा गर्न आग्रह गरिसकेको पनि बताए । ‘गृहमन्त्रीलाई पनि पत्र पठाएको छुँ, अहिलेको डिएसपी असक्षम हो, डिएसपी तुरुन्त सरुवा गरेर सक्षम डिएसपी पठाउनुपर्यो,’उनले भने,‘नगर प्रमुख जस्तो मान्छेलाई पटक पटक भुमाफियाहरुले आक्रमण गर्न खोज्दासम्म पनि कारबाही नगर्ने, के खालको, कस्को जागिर खाएको हो ?’

राष्ट्रिय झण्डाको मुनि बसेर संविधानलाई अक्षरस पालाना गर्ने भनेर सपथ ग्रहण गरेको भएपनि जनताले चुनेको स्थानीय सरकार प्रमुखको निर्देशन डिएसपीले पालना नगरेको मेयर साम्पाङको भनाई थियो । ‘यो खालको बेथिती र अराजकता के कारणले सृर्जना भइरहेको छ । लोकतन्त्र छ भने जनताले चुनेको मान्छेले भनेको प्रहरी प्रशासनले मान्नुपर्छ । आफुखुशी गर्ने होइन होला, यो कुरा हेक्का रहोस्,’ उनले भने ।

आफुले भनेको नमानेको, धरानको शान्तिसुरक्षामा प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै केही समय यता धरानका डिएसपी मल्लसँग मेयर साम्पाङ असन्तुष्ट बनेका छन् । उनले डिएसपी मल्लविरुद्ध सार्वजनिकरुपमा अभिव्यक्ति मात्र दिएका छैनन्, सरुवा गर्न आग्रह गर्दै संघीय गृहमन्त्रीलाई पत्राचार पनि गरेका थिए ।

'मलाई यो संविधान मन परेको छ '

mayor sampang1

मेयर साम्पाङले धेरै संघर्ष गरेर प्राप्त गरेको संविधान कतिलाई मन नपरेको भएपनि आफुलाई मन परेको बताए । संविधानले सबै जातजातिको, सबै धर्म सँस्कार र सँस्कृतिको हकअधिकार सुनिश्चित गरेको कारण आफुलाई मनपरेको उनले बताए । 

लोकतन्त्रको मर्मलाई पुर्णरुपमा आत्मसात गर्न संविधानले भुमिका खेलेको धारणा राख्दै उनले यो संविधानलाई स्वीकार गरेको र गर्नुपर्ने पनि बताए । ‘यो भन्दा राम्रो व्यवस्था हुदैन । संघीय लोकतान्त्रिक गणतन्त्र समाजवादतर्फ उन्मुख भन्ने छ,’उनले भने,‘अहिले सरकार कमजोर र दलाल, माफिया सरकारभन्दा ठुलो भन्ने स्थिति बनेको छ । केही माफिया, फटाहाहरुको माज पुर्णअन्त्यको लागि सबै सचेत भएर लाग्नुपर्छ ।’

भिडियो: