धरान: कोशी राजमार्ग अन्तर्गतको धरान-इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि पानीपियासम्मको सडक निर्माण कार्य एक साताभित्र सुचारु नगरे यातायात व्यवसायी तथा मजदुर संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।

व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरुले मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउदै ७ दिनभित्र निर्माण कार्य सुचारु गर्न र दशैतिहार अघि नै निर्माण सम्पन्न गर्न माग गरेका छन् । निर्माण कार्य ७ दिनभित्र सुरु गरेर आवतजावत सहज नगराए सडक अवरोध गर्नेसहित चरणबद्ध आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिइएको छ ।

रानी-विराटनगर-धरान ६ लेन सडक २०८० असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । सोही सडकखण्डमा पर्ने धरानको तीनकुनेदेखि सेउती पुलसम्मको ठेक्का पाएको रौता कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरिसकेको छ । तर, सेउती पुलदेखि दक्षिण पानीपियासम्मको ठेक्का पाएको हेमदोङ ठोक्कर एण्ड प्यासिफिक जेभीले भने ५० प्रतिशत मात्र काम गरेर सडक लथालिङ छोडेको छ । जसले गर्दा उक्त खण्डको सडकमा धुलो, हिलोले सवारीसाधन र यात्रुलाई सास्ती भइरहेको छ भने दुर्घटनाले ज्यान गुमाउनुपर्ने जोखिम पनि छ । 

ठेकेदारले काम नगरि बसिरहदा र सर्वसाधारण जनताले सास्ती भोग्नुपर्दा पनि सरोकारवाला निकायहरुले कारबाही गर्न सकेको छैन । नजिकिदै गरेको चाडपर्वमा गाउँघर फर्कने सर्वसाधारणहरुको संख्या बढ्ने र सवारीको चाप पनि बढ्ने कारण यो सडकमा दुर्घटनाको जोखिम पनि बढ्ने भन्दै यातायात व्यवसायी र मजदुर संगठनहरुले चाडो निर्माण कार्य सम्पन्न गर्न सरकारको तर्फबाट कडा निर्देशन दिन प्रजिअ पाण्डेलाई ध्यानाकर्षण गराएका हुन् । 

road1

road2