धरान: डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा आज (मंगलबार) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पनि जुनियर रेसिडेन्ट (आवासिय चिकित्सक)हरुले इर्मजेन्सीसमेत बहिष्कार गर्दा विरामीहरुको बेहाल भएको छ ।

सोमबार मणिपाल अस्पताल, पोखरामा जेआर डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका आवासिय चिकित्सकहरुले कुनै पनि सेवामा सहभागी नहुने आकस्मिक घोषणा गर्दै आन्दोलनमा उत्रिएका थिए । उक्त आन्दोलनमा ऐक्यवद्धता जनाउदै वीपी प्रतिष्ठान धरानका सम्पुर्ण जुनियर रेसिडेन्ट (आवासिय चिकित्सक)हरुले पनि इर्मजेन्सी, वार्डसहितका उपचार सेवा सरिक भएनन् । पुर्वसुचना विना एक्कासी जेआरहरुले इर्मजेन्सी र वार्डको सेवासमेत बहिष्कार गरेपछि प्रतिष्ठानको उपचार सेवा मंगलबार अस्तब्यस्त बन्न पुगेको थियो । विगतका आन्दोलनहरुमा ओपिडी सेवा मात्र बहिष्कार गर्ने गरिएकोमा आज भने इर्मजेन्सी र वार्डमा पनि जेआरहरुले काम गरेनन् ।

प्रतिष्ठानको गाइनो इर्मजेन्सी, बच्चा इर्मजेन्सी, ओपिडी र वार्डमा जुनियर रेसिडेन्टहरु नहुदा विरामीहरुको बेहाल भएको एक चिकित्सकले जानकारी दिए । प्रतिष्ठानको उपचार सेवा जुनियर रेसिडेन्टहरुकै भरमा चलेको हुन्छ । पुर्वसुचना विना जेआरहरु एक्कासी आन्दोलनमा उत्रिदा अस्पताल प्रशासनलाई मंगलबार जनशक्ति व्यवस्थापन गर्न धौ धौ परेको थियो । ‘पुर्वसुचना थिएन, ओपिडीमा २ हजार बढी टिकट काटेका विरामीहरुलाई कन्सल्टेन्टहरुलाई आग्रह गरेर बल्ल बल्ल उपचार सेवा दियौं,’ अस्पताल प्रशासनका एक अधिकारीले भने,‘विरामीहरु नै घेराउ गर्न आए ।’

मुख्य इर्मजेन्सीमा भने मेडिकल अफिसरहरु भएको कारण जेआरहरुले काम छोड्दा पनि उपचार सेवालाई प्रभावित हुन नदिइएको प्रशासनको भनाई छ । यद्यपी, इर्मजेन्सीमा विरामीको अत्यधिक चाप हुने भएकोले अरुबेला पनि चिकित्सकहरु दबाबमा नै रहेर काम गर्नुपर्ने हुन्छ । 

प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष अच्युत न्यौपानेले सोमबार राती मात्र रेसिडेन्ट एलायन्सले सबै काम छोड्ने घोषणा गरेकोले मंगलबार वीपीमा पनि आकस्मिकरुपमा नै सबै काम छोडिएको बताए । ‘यो आकस्मिकरुपमा नै भएको आन्दोलन र घोषणा हो । हाम्रो पनि बाध्यता हो,’इर्मजेन्सी सेवा छोड्नु अमानवीयता भएन र ? भन्ने प्रश्नमा उनले भने,‘इर्मजेन्सीमै हामी सुरक्षित नहुने भयौं, त्यसैले सबै काम छोड्नु बाध्यता भयो ।’

न्यौपानेले राजधानीमा आन्दोलन संघर्ष समिति गठन गरिएको र उक्त समितिले अघि सारेका मागहरु पुरा नभएसम्म आवासिय चिकित्सकहरु काममा नफर्कने पनि बताए । समितिले देशका विभिन्न स्थानमा भएका कुटपिटका घटनामा संलग्न दोषीलाई पक्राउ र कारबाही पश्चात मात्र वार्तामा बस्ने घोषणा गरेको छ ।