धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ ।

विद्यालयले कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई शुक्रबार यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई किताबी ज्ञानबाहेक पनि आफ्नो सुरक्षाको लागि के कस्तो उपायहरु अवलम्वन गर्न सकिन्छ भनेर जानकारी प्रदान गर्नका लागि आत्मरक्षा तालिम दिइएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । 

प्रिन्सिपल श्रेष्ठका अनुसार विद्यार्थीलाई शैक्षिक पात्रोमै उल्लेख गरेर विभिन्न विधाहरुमा तालिम, अभिमुखीकरण साथै प्रवलीकरण जस्ता अतिरिक्त क्रियाकलापहरुमा विद्यालयले जोड दिँदै आएको छ । उनले भने, ‘यही अन्तर्गत विशेषतः यसपटक आत्मरक्षा तालिम पनि महत्वपूर्ण ठान्यौं र यो तालिम दिइएको हो ।’

self defense2

यो तालिमले आत्मरक्षा कला मात्रै सिक्ने नभएर छात्राहरुको आत्मविश्वास पनि अभिवृद्धि हुने प्रिन्सिपल श्रेष्ठले बताए । आत्मविश्वास वृद्धि भएसँगै उनीहरु खुलेर आफ्नो प्रतिभा प्रष्फुटन गर्न सक्ने र समाजमा सुरक्षित महसुस गर्ने विश्वास लिइएको पनि उनको भनाई छ । कक्षा–१२ की छात्रा लक्ष्मी राईले तालिम फलदायी भएको र आत्मविश्वास बढेको बताइन् ।

यस्तै, कक्षा १० की छात्रा श्रेया झाले स्वास्थ्य राम्रो भयो भने पठनपाठनमा पनि सहयोग पुग्ने र यस्ता खालका तालिमले सोंच्ने शक्ति पनि बढाउने बताइन् । तालिममा सहजीकरण गरेकी प्रशिक्षक सुबिक्षा राईले आत्मरक्षा तालिम सिकेका छात्राले कुनैपनि समयमा सुरक्षित महसुस गर्ने बताइन् । छात्राहरुले कतिपय आपराधिक घटनाको सामना गर्नुपरिरहेको र ती घटनाबाट बच्न पनि आत्मरक्षा तालिम जरुरी रहेको उनले बताइन् । 

self defense3

कार्यक्रममा विद्यालयका तेक्वान्दो र कराँते प्रशिक्षकहरू सन्तोष राई र शुलभ श्रेष्ठले पनि प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा प्रिन्सिपल निलमकुमार श्रेष्ठ, सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले प्रश्क्षिकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन माध्यमिक तहका कोअर्डिनेटर शम्भु रेग्मीले गरेका थिए ।

प्रिन्सिपल श्रेष्ठले प्रत्येक शुक्रबार र शनिबार अतिरिक्त क्रियाकलाप गराउने गरिएको जानकारी दिए । उनका अनुसार फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, कराँते, नृत्य, गायन, चित्रकलालगायतका विधाको कक्षा नै सञ्चालन गरिँदै आएको जानकारी दिए । ‘प्रतिभा देखाउन चाहने विद्यार्थीका लागि हामीले पहिल्यै जानकारी दिँदै आएको छौं, त्यसमा जो जुन विधामा रुचि राख्छन्, सोही विधामा हामी निःशुल्क अतिरिक्त क्रियाकलाप गराइरहेका छौं ।’ उनका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म र शनिबार बिहान ७ बजेदेखि ९ बजे र बेलुका साढे ३ देखि साढे ५ बजेसम्म यस्ता क्रियाकलाप गर्दै आएको छ ।

self defense4