धरान: लामो समयपछि आज (सोमबार) बसेको धरानको कार्यपालिका बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु मेयर हर्क साम्पाङ प्रति निक्कै आक्रमकरुपमा प्रस्तुत भए । 

बैठकको शुरुवातमा नै कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले आफ्ना कुरा राख्दै मेयर साम्पाङलाई गम्भीर आरोपहरु लगाए । उनले लगाएका आरोपहरुमा कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले टेवल ठट्याउदै समर्थन जनाएका थिए । गएको भदौ पहिलो साता धरानमा धार्मिक, जातीय सद्भाव भड्किने अवस्था हुँदा पनि मेयर साम्पाङले समाधानको लागि कुनै पहल नगरेको भन्दै भट्टराईले आक्षेप लगाए । 

उनले मेयर साम्पाङले नै मलाई कुन जातिले गाली गरिरहेको छ भनेर सामाजिक सञ्जालहरुमा बोल्ने, लेख्ने गरेर जातको बिष वमन गरेको भन्दै गम्भीर आरोप पनि लगाए । ‘त्यस्तो विपतको बेला पत्र काट्नुपर्दैन थियो, एक कल फोन गरेर यो परिस्थिति छ भनेर बोलाउदा हुन्थ्यो । चारै कुनामा प्रहरी राखेर धरानलाई विश्वको आँखामा धार्मिक, जातीय द्धन्दको संखघोष हुन लाग्यो, आगो बल्न लाग्यो भनिरहदा हाम्रो प्रमुखको आँखा कहाँ थियो ?’उनले भने ।

कर्मचारीलाई हटाउदा कुनै छलफल नगरेको तर आज तिनै कर्मचारीकोबारेमा एजेण्डा राखेको बिषयमा पनि भटट्राईले आलोचना गरे । कर्मचारीलाई हटाउदा घरमा भात पकाउन राखेको जस्तो गरेर आफुखुशी निकालेको भन्दै अहिले एजेण्डा किन राखेको भन्दै प्रश्न पनि गरे । साथै उनले नगरपालिका टाँट पल्टिन लागेको र वडामा बजेट नभएको, पोहोरको दायित्व तिर्न नसकिरहेको अवस्थामा मेयर साम्पाङले भने आफ्ना झोले कार्यकर्ताहरुलाई कर्मचारीकोरुपमा भर्ना गरिरहेको पनि भट्टराईले बताए । 

karyapalika1

‘कर्मचारी भर्ती गरेको गरेकै हुनुहुन्छ । हिजो दलले झोले नियुक्ती गर्यो भनेर गेटमा उफ्रिनुहुन्थ्यो, आज तपाईको झोले झ्याम्टाहरु सबै नियुक्ती गर्नुभएको छ,’ उनले भने,‘कार्यकारी अधिकृतलाई सोध्न चाहन्छुँ, तपाईलाई कस्ले अधिकार दियो सही गर्ने ? चुनावी अभियनकर्ताहरु कर विश्लेषक भनेर नियुक्त भएका छन्, ढुंगा बोक्नेहरु खानेपानी बोर्डका कर्मचारी भएका छन् । तपाईका हरेक मान्छेहरु जागिरे भएका छन्, जागिर २०८४ सम्म त होला नि ? ८४ मा हामी नै त आउने हो नि !’ वडाअध्यक्ष भट्टराईले २०८४ सम्म पनि नपर्खने भन्दै आफु राजिनामा दिएर मेयरमा चुनाव लड्न तयार रहेको पनि बताए । उनले मेयर साम्पाङलाई राजिनामा दिएर आफुसँग चुनाव लड्न चुनौती दिदै चुनाव हारे धरान र राजनीति छोड्ने पनि घोषणा गरे । 

वडाअध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा मेयर साम्पाङको मानसिक अवस्थाकोबारेमा टिकाटिप्पणी भएको पनि उल्लेख गर्दै प्रश्न गरे, ‘मैले भनेको होइन, फेसबुकमा देखेको । के हामीले त्यही सोच्नुपर्ने अवस्था आएको हो ? कि त्यो अवस्था हो त मेयर साबको ? हामीलाइ चिन्ता छ, धरानको कुर्सीमा बसेर धरानको सिंगो वातावरण खलबलाउने काम गर्नुभएको छ ।’

उनले आफुले भनेको नमान्दा वरिष्ठ प्रशासकीय अधिकृत फेरवदल गरिरहेको भन्दै आपत्ति पनि जनाए । घरमा काम गर्ने कामदारलाई जस्तो कर्मचारी परिवर्तन गरेको भन्दै भट्टराईले मनपरी निर्णय गर्न नपाउने बताए । ‘हिजो गणेश खतिवडा मन परेन, आज शम्भु पाण्डे मन परेन, भोली को ल्याउने ? यसरी मनपरी निर्णय गर्न पाउनुहुन्न, प्रशासन प्रमुखको फेरवदलको विपक्षमा छौं,’उनले भने,‘ जसलाई मन लाग्यो त्यो गर्न पाइदैन । शम्भु पाण्डेले के गरेर परिवर्तन गरिएको हो ? विधि र प्रक्रिया छैन ? भनेको मनेन, आफ्नो स्वार्थ पुरा भएन भनेर हुन्छ ? जे मन लाग्यो त्यही गर्ने ?’ मेयर साम्पाङले केही महिनाअघि गणेश खतिवडालाई वरिष्ठ प्रशासकीय अधिकृतबाट हटाएर शिक्षा महशाखाका शम्भु पाण्डे ल्याएका थिए । उनलाई पनि अहिले हटाएर सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञा निरौलालाई प्रशासनमा ल्याएका छन् ।

मेयर साम्पाङले प्रवक्ता एवं वडाअध्यक्ष भट्टराईको आरोपहरुको खण्डन गरे । तर, उनले आफ्ना मान्छेहरुलाई जागिर खुवाएको आरोपबारे भने प्रतिक्रिया दिएनन् । उनले आफुले सामाजिक सद्भाव आफुले नभड्काएको जिकिर गरे । विजयपुरमा गोपाल मन्दिर अघि चर्च बनाउन आफ्नो स्वीकृति नभएको पनि उनले प्रष्ट्याए ।

आफुविरुद्ध निरन्तर आक्षेप लगाएपछि प्रतिवाद गरेको उनले बताए । आफ्नो पार्टी र कार्यकर्ता पनि नभएको र निरन्तर आक्रमण भएपछि प्रतिवादमा उत्रिएको उनले बताए । ‘मैले कुन अभिव्यक्तिमा धार्मिक सहिष्णुता बिर्गानुपर्छ, सामाजिक सद्भाव बिगार्नुपर्छ भनेर भने ? विज्ञप्ती नै जारी गरेर सद्भाव कायम गर्नुपर्छ भनेको छुँ,तर उल्टो मिथ्या आरोप आइरहेको छ,’मेयर साम्पाङले भने,‘एकल निर्णय गरेको छैन, हामी सबैले सामुहिक निर्णय गरेका छौं । कतिपय कुरा प्रशासनिक हुन्छ, त्यसमा मैले गर्नुपर्ने निर्णय हुन्छ । हरेक कुरा कार्यपालिकामा ल्याउनुपर्ने हो भने नगर प्रमुखको अर्थ के हो ?’

भिडियो: