धरान: युएन कलेजले होटल मेनेजमेन्ट स्नातक तहको फष्ट सेमेस्टरमा प्रदेशकै टपर ३ विद्यार्थीलाई नगदसहित पुरस्कार एवं सम्मान गरेको छ । 

धरान १६ स्थित कलेजले सोमबार कार्यक्रमम आयोजना गरि प्रदेशभरिमै सर्वोत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई सम्मान गरेको हो । कलेजकी छात्रा स्मारिका श्रेष्ठले फस्ट सेमेस्टरको परीक्षामा ३.९३ जिपिए ल्याएर प्रदेश टपर भएको कलेजले जनाएको छ । उनलाई नगद २५ हजार रुपैयाँ र सम्मान पत्रसहित कलेजले सम्मान गरेको छ । 

यस्तै, ३.८९ जिपिए ल्याएर रोजिना राई प्रदेशकै दोस्रो भएको कलेजले जनाएको छ । उनलाई पनि नगद १५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । सोही कलेजकी छात्रा सिम्रन तामाङले ३.८७ जिपिए ल्याएर प्रदेशभरिमा तेस्रो भएकी छिन् । उनलाई कलेजले नगद १० हजार र सम्मान पत्र प्रदान गरेको छ ।

सम्मान कार्यक्रममा पहिलो हुने छात्रा स्मारिका र दोस्रो छात्रा रोजिना उपस्थित थिइन् भने तेस्रो भएकी सिम्रन बिशेष कारणले उपस्थित थिइनन् । स्मारिका र रोजिनालाई कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बरकुमार तुम्बापो, बिएचएम कोर्डिनेटर गगनमान श्रेष्ठलगायत शिक्षकहरुले सम्मान गरेका थिए । 

कलेजका अध्यक्ष झाले शिक्षक र विद्यार्थीहरुको मेहनतको नतिजा प्राप्त भएको बताए । यो परिणामले युएन कलेजमा दक्ष शिक्षकहरु छन् भन्ने पुनः एक पटक प्रमाणित भएको र विद्यार्थीहरु पनि अध्ययनशील, मेहनती छन् भन्ने पुष्टि भएको झाले बताए । उनले भने, 'यो रिजल्ट त्यतिकै संयोगवश आएको होइन । शिक्षक र विद्यार्थीहरुमा हामीलाई गर्व छ । तर विद्यार्थीहरुको यात्रा सकिएको छैन, भर्खर मात्र शुरु भएको हो, अझै धेरै मेहनत गर्नुपर्छ ।'

कलेजका प्रिन्सिपल तुम्बापोले विद्यार्थीहरलाई अध्ययनमा थप उत्प्रेरणा दिलाउन धरान, जिल्ला, प्रदेश र नेपाल टपर (पहिलो, दोस्रो र तेस्रो) हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको बताए । उनले ५ बर्षअघि पनि कलेजका विद्यार्थीहरुले पहिलो, दोस्रो र तेस्रो बनेर उत्कृष्ट नतिजा ल्याएको उनले स्मरण गरे । 'हाम्रो विद्यार्थीहरुले हरेक बर्ष समेस्टरमा उत्कृष्ट नतिजा ल्याउदै आएको छ, यसपाली फेरि तीनै जना टपर भएर ५ बर्ष अघिकै नतिजा दोहोर्याए,' उनले भने,'अझै राम्रो पढ्नुस्, र नेपालकै टपर बन्नस् ।'