विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुन विपरीत काम गर्नेहरुलाई प्रहरीले फोन कलकै भरमा नछोड्न निर्देशन दिएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफोन कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशन दिएका हुन् । “कसैले आफै कानूनको उलङ्घन गर्छ भने कार्वाही हुनुपर्छ । पहुँचको आधारमा सुरक्षा नदिनुहोस,” उनले भने । 

उनले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्नेमा जोडदिएका छन् । प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहेको भन्दै त्यो परिस्थिति अन्त्य हुनुपर्ने पनि बताए । ‘प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर नागरिकको सुरक्षामा खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा पनि परिवर्तन गरिनु पर्छ ।” मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको भन्दै यो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।

CM Karki 2 copy

सोही अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोला सम्मानित भएका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरुमध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गरे । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानित गरिएको थियो ।