धरान: धरान ९ बगैचालाइनस्थित होटल रत्न इनमा कोठाभित्र एक युवाको शव फेला परेको छ । 

सुनसरीको रामधुनी ३ का २४ बर्षीय विश्वमणी आचार्यको शव फेला परेको हो । कोठाभित्रैबाट चुकुल लगाएर घाँटी ब्लेडले काटेको अवस्थामा आचार्यको शव भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ढोका लामो समयसम्म पनि नखोलेपछि साँझ प्रहरीमा खबर आएको र मृतकका अभिभावक, होटल व्यवसायी, वडाका जनप्रतिनिधिको रोबहरमा ढोका फोडेर भित्र पसेर हेर्दा शव भेटिएको डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनका अनुसार कोठाको चुलुक वलियो गरि भित्रैबाट लगाएको र झ्यालहरु पनि ग्रिल भएको कारण अन्य कोही प्रवेश गर्नसक्ने अवस्था थिएन । ‘अभिभावक, जनप्रतिनिधि, होटल व्यवसायीको रोहबरमा खोल्यौं । झ्याल पनि ग्रिल लगाएको छ, केही पस्ने अवस्था देखिदैन । शव मर्चरीमा राखिएको छ । आज मृतकका अभिभावक आएर जाहेरी दिनुहुन्छ, र थप प्रक्रिया अघि बढाउछौं,’ डिएसपी मल्ले भने ।

होटलको ढोका फोड्दा उपस्थित वडा नं ९ की वडा सदस्य विन्दु कार्कीले पनि ब्लेडले घाँटी रेटेर लडेको अवस्थामा शव भेटिएको बताइन् । ‘सोमबार आएर कोठामा बसेको रहेछ । हिजो बेलुका खाना खान्छ कि भनेर बुझ्न जादा ढोका नखोलेपछि फोन गर्दा आमाको नम्बर रहेछ, त्यसपछि घटनाबारे होहल्ला भएको रहेछ,’उनले भनिन् । मदिराको बोतल पनि भेटिएको उनले बताइन् । 

मृतक भेटनरी औषधी व्यापारीको बोलेरो चालक रहेको पनि खुलेको छ । उनी पहाडी क्षेत्रमा पैसा संकलन गरेर सोमबार बोलेर चलाएर फर्कदै गरेका थिए । धरान भेडेटार सडकखण्डमा उनको बोलेरोले स्कुटरलाई ठक्कर दिएको र स्कुटर ट्रकमा गएर च्यापिएको थियो । उक्त घटनामा स्कुटर चालक श्रीमान्, श्रीमति गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् ।

यो घटना पछि उनी कार्यरत भेटनरी फर्मका सञ्चालकका छोरालाई एक पटक फोन गरेर मलाई बचाउनुस् भनेको र त्यसपछि मोवाइल स्वीच अफ गरेको पनि पाइएको छ । उनले संकलन गरेर ल्याएको पैसा पनि कोठामा भेटिएको वडा सदस्य कार्कीले जानकारी दिइन् । 'भेटनरीको मान्छे पनि आउनु भएको थियो । एक पटक फोन गरेर मोवाइल स्वीच अफ गरेकोले कहाँ गयो भन्ने पत्ता लागेन रहेछ,' कार्कीले भनिन्, 'उठाएर ल्याएको पैसा पनि कोठामै भेटियो ।'