धरान: पानीको गहिराईमा पुगेर खोज तथा उद्दारमा खटिने सशस्त्र प्रहरीको गोताखोर तालिमको समापनमा शुक्रबार दिउँसो सप्तकोशी नदीमा डेमोस्ट्रेसन भइरहदा पत्रकारसहित दर्जन व्यक्ति चढेको मोटरवोट दुर्घटना भएको छ ।

दुर्घटनामा परेकाहरुलाई सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको थियो । पानीमा डुबेर बेहोस भएका विराटनगरका पत्रकार कुमुद अधिकारीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष लिलावल्लभ घिमिरेले जानकारी दिए । दुर्घटनामा घाइते अन्यको अवस्था सामान्य छ । 

सुनसरी र उदयपुर जोड्ने सप्तकोशी पुल मुनि उदयपुरतर्फको किनारमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भइरहेको बेला उक्त मोटरबोट दुर्घटना भएको थियो । मुख्यमन्त्री कार्की मोटरबोट चढेर आएपछि समापन समारोह शुरु भएपछि तालिम लिएका सशस्त्रका गोताखोरहरुले डेमोस्ट्रेसन देखाउन शुरु गरेका थिए । पुल मुनिबाट कोशीमा एक जना व्यक्तिलाई कोशीले बगाउदै थियो, र उनी बचाउ बचाउ भन्दै थिए । 

koshi moter

उनलाई उद्दार गर्ने तयारी गर्दागर्दै पारी सुनसरीतर्फ भने मोटरबोट पल्टिएको थियो । उक्त दुर्घटना वास्तविकरुपमा नै भएपनि शुरुमा सबैले गोताखोरको डेमोस्ट्रेसन अनुमान गरेका थिए । तर, डेमोस्ट्रेसन गर्न तोकिएको क्षेत्र बाहिर उक्त दुर्घटना भएकोले सशस्त्र प्रहरीको टोली तत्कालै उद्दारमा खटिएको थियो । 

उक्त दुर्घटनामा विराटनगरका ४ जना पत्रकारसहित १३ जना यात्रु थिए । उनीहरु कार्यक्रमकै लागि मोटरबोट चढेर आउदा दुर्घटना भएको थियो । दुर्घटनामा परेका उदयपुरको बेलका ९ का टंक शर्माले क्षमताभन्दा बढी यात्रु बोकेको कारण एक्कासी मोटरबोट पल्टिएको बताए । ‘बाचिदैन भन्ने लागेको थियो, तर सशस्त्रको टिमले बचायो,’ उनले भने, ‘क्षमता कति हो, त्यति मात्र मान्छे चढाउनुपर्ने हो । लाइफ ज्याकेट पनि ठिक थिएन ।’

भिडियो: