धरान: धरान ११ मंगलबारे चोकस्थित नुना स्टोरका सञ्चालक परिवारै सर्वसाधारणहरुको करोडौं रकम र धितो राखेको सुन लिएर फरार भएका छन् ।

स्टोरका सञ्चालक वसन्त राई, श्रीमति उर्मिला राई र दुई छोराहरु कार्तिक २ गतेदेखि घर छोडेर फरार छन् । राई परिवारले आफ्नै घरबाट कारोबार सञ्चालन गरिरहेका थिए । स्टोरमा जतिले नगद र सुन राखेका थिए, उनीहरुलाई राई परिवारले कार्तिक २ र ३ गतेको भाका दिएका थिए । पीडितहरु कार्तिक २ गते घरमा पुग्दा राई परिवार फरार भइसकेका थिए । 

फरार भएका राई परिवारलाई पीडितहरुले सम्पर्कमा आउन र अझै कारोबार सम्हाल्न आग्रह गरेका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पीडितहरुले राई परिवारलाई सम्पर्कमा आउन आह्वान गरेका छन् । ‘अझै पनि हामी भन्छांै, जही भएपनि सम्पर्कमा आउनुस्, हामी केही गर्दैनौं । आएर हिसाब मिलाउनुस्, कारोबार सम्हाल्नुस्, यति समयभित्र तिछौं भनेर कागज गर्दा पनि हुन्छ,’ स्टोरमा ९३ लाख राखेकी चन्द्रा तामाङले भनिन्,‘हामीले दुःख गरेर कमाएको पैसा विश्वास गरेर दिएका हौं, यसरी घात हुन्छ भन्ने लागेको थिएन ।’

पीडितहरुका अनुसार अहिलेससम्म ६० जना पीडितहरु सम्पर्कमा आएका छन् । उनीहरुमध्ये केहीको पैसा हो भने केहीले सुन धितो राखेका थिए । ‘यतिको मात्र हिसाब गर्दा पनि २० देखि २५ करोड रकम हिनामिना भएको अनुमान छ, तर यथार्थ प्रष्ट छैन । अझै धेरै मानिसहरु सम्पर्कमा आउन बाँकी छ,’उनले भने,‘आर्थिक मन्दी छ, सबैलाई थाह छ । त्यसैले सम्पर्कमा आएर समय माग्नुस्, हामी पनि तत्काल तिर्नुस् भन्दैनौं ।’

nuna

राई परिवारले घरमै नुना स्टोरसँगै रेमिटेन्स पनि चलाएका थिए । साथै, वंगुर फर्म र माछा फर्म पनि खोलेका थिए भने वंगुरको चारोको डिलर पनि खोलेका थिए । आफ्ना व्यवसायहरुमा लगानी गर्न भन्दै पनि राई परिवारले थुप्रैबाट पैसा लिने र ब्याज तिर्ने गरेका थिए । पछिल्लो समय कारोबार डुब्दै गएपछि पैसा फिर्ता गर्न नसक्दा इटहरीमा रहेको जग्गा बचेर तिर्ने आश्वासन पनि दिदै आएका थिए । 

घरव्यवहार चलाउने र स्वास्थ्योपचार गर्ने पैसा डुबेपछि थुप्रै पीडितहरुको विचल्ली छ । वीपी प्रतिष्ठानबाट उपदान लिदा पाएको ७ लाख डुबेपछि घर झगडा भइरहेको वीरबहादुर तामाङले बताए । उनले भने,'घरमा श्रीमतिले खाना उतै वसन्तले दिन्छ होला नि भन्न थालिसक्यो । बषैं काम गरेर पाएको उपदान राखेको थिएँ, बुढेसकालमा अलपत्र पार्ने भयो ।' 

प्रहरीमा जोहरी दिदा पनि वास्ता नभएको पीडितहरुको भनाई छ । प्रहरीले जोहरी दर्ता नगरेपनि फरार भएका परिवारलाई खोजी गरेर सम्पर्कमा ल्याउन सके पीडितहरुले राहत पाउने पुर्वप्रहरीसमेत रहेका पीडित बुद्धिमान तामाङले बताए । ‘प्रहरीमा पनि गयौं, वास्ता भएन । मान्छे हराएको छ, खोजी त गर्नुपर्ने हो नि । जोहरी दर्ता गर्नुपरेन, मान्छे त खोजी गरिदिए मात्र हुन्छ । तर निवेदन नै लिएनन्,’उनले भने । 

भिडियो: