धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी काउन्टर आज खुलेको छैन ।

अवरुद्ध भएको बढुवा प्रक्रिया अघि बढाउनुपर्ने एक सुत्रीय माग राखेर आन्दोलनरत शिक्षक कल्याण समाजसँग वार्ता गरेर निकास निकाल्न पदाधिकारीहरुले चासो नदिएपछि उपचार सेवा पनि प्रभावित हुन पुगेको हो । बिहान साढे ७ बजेदेखि नै ओपिडी काउन्टर खुल्नुपर्ने थियो, तर अहिले साढे ८ बजिसक्दा पनि खुलेको छैन । काठमाण्डौंबाट फर्किएका पदाधिकारीहरु र प्रतिष्ठानको विभागीय प्रमुखहरुबीच आज बिहान साढे ८ बजेदेखि छलफल भइरहेको छ । सिनेट बैठक हलमा जारी छलफल पछि मात्र ओपिडी काउन्टर खोल्ने अस्पताल प्रशासनले एक सुचना निकालेको छ । 

पदाधिकारीहरु काठमाण्डौंबाट फर्केको कारण हिजो शनिबार वार्तामा बोलाउने अनौपचारिक खबर आएपछि आन्दोलनरत शिक्षकहरु तयारी अवस्थामा बसेका थिए । तर, बिहान साढे ७ बजेदेखि बेलुका ६  बजेसम्म तयारीका साथ प्रतिक्षा गरेपनि वार्ताको लागि कुनै आधिकारिक पत्र नआएकोले आन्दोलनको कार्यक्रम यथावत रहेको शिक्षक कल्याण समाजले जनाएको छ । 

समाजले शनिबार राती एक विज्ञप्ती जारी गर्दै यो घटनाले प्रतिष्ठानका पदाधिकारीहरुको गैरजिम्मेवारीपन उदांगो भएको जनाएको छ । शिक्षक कल्याण समाजले यसअघि नै इर्मजेन्सी र आइसियुबाहेकका सम्पुर्ण उपचार सेवाहरु बहिष्कार गर्न चिकित्सकहरुलाई आह्वान गरिसकेको छ । उपचार सेवा र पठनपाठन प्रभावित हुँदा पनि समस्या समाधान गर्न पदाधिकारीहरुले आन्दोलनरत पक्षसँग वार्ता गरेको छैन ।

bp teacher