सुनसरी: दुहवी नगरपालिका ८ स्थित कोशी राजमार्गमा दुर्घटनामा परेको मोटरसाइकलबाट लागुऔषध गाँजा वरामद भएपछि चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको शहिदभुमी गाउँपालिका ७ का २१ बर्षीय अनिश तामाङ रहेका रहेको प्रहरीले जनाएको छ । तामाङले चलाएको प्रदेश १-०२-०४२ प ३७५४ नम्वरको मोटरसाईकलमा रहेको झोलाबाट ३१ किलोग्राम गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 

सोमबार बिहान दुहबी ८ मा पर्ने कोशी लोकमार्गमा को १ ह ८४७८ नम्वरको सिटी सफारी र तामाङले चलाएको मोटरसाईकल ठोक्किएर दुर्घटना परेपछि तामाङ गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक तामाङ र सफारी चालक तथा सिटीमा सवार २ जना यात्रु घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय दुहबीको टोलीले घाईतेहरुलाई स्थानीय जीवनज्योती स्वास्थ्य सेवा प्रालिमा उपचारको लागि लगेको थियो । साथै, दुर्घटनामा परेको सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाईकलमा रहेको कालो रंगको भिर्ने झोला र ३ वटा जेब्रा झोलाबाट ३१ किलोग्राम औषध गाँजा फेला परेको थियो । 

मोटरसाईकलमा रहेको झोलाबाट गाँजा बरामद भएपछि उपचार पश्चात चालक तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालक तामाङ सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।