धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । 

नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही स्कुलले ट्रान्सफर सर्टिफिकेट नलिई अर्को स्कुलको विद्यार्थी भर्ना लिएको उजुरी आएपछि शिक्षा समितिले यस्तो निर्णय गरेको हो । शिक्षा महाशाखा प्रमुख एवं शिक्षा समितिका सदस्य सचिव गणेशप्रसाद खतिवडाले भने, ‘यस बिषयमा उजुरी आएकोले कानुन सम्मत हिसाबले जुन जुनको ट्रान्सफर सर्टिफिटेक आवश्यक भनेको छ, त्यो लिएर मात्र भर्ना गर्न पाउने निर्णय भएको छ ।’

सोही बैठकले ट्रान्सफर सर्टिफिकेट दिदा स्कुलहरुले विद्यार्थी तथा अभिभावकसँग १ हजार भन्दा बढी शुल्क लिन नपाउने पनि निर्णय गरेको छ । स्कुलहरुले सर्टिफिकेट दिदा धेरै पैसा लिएको गुनासो आएपछि आजको बैठकमा यो बिषय पनि एजेण्डामा राखिएको थियो । ‘ट्रान्सफर सर्टिफिकेट दिदा विद्यार्थीबाट एक हजार भन्दा बढी शुल्क लिन पाइदैन, उजुरी आयो भने कारबाही हुन्छ । यो निर्णय सामुदायिक र निजी सबै विद्यालयको हकमा हो,’ खतिवडाले भने ।

यस्तै, अपांगता भएका विद्यार्थीहरुलाई निःशुल्क पढ्ने व्यवस्थाको लागी पनि कानुन वमोजिम सामुदायिक र निजी विद्यालयहरुलाई परिपत्र गर्ने निर्णय बैठकले गरेको छ । खतिवडाका अनुसार अपांगता सम्बन्धी संस्थाले अपांगता भएका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको माग गर्दै उपमहानगरपालिकामा निवेदन दिएको थियो । यसबारेमा बैठकले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन र अपांगता हकहित सम्बन्धी ऐन २०७४ मा सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षाको व्यवस्था भएकोले सोही वमोजिम गर्न परिपत्र पठाउने निर्णय भएको उनले बताए । ‘संस्थागत विद्यालयहरुमा पनि छात्रवृत्ति कोटामा निःशुल्क पढ्ने व्यवस्था कानुन अनुसार गर्न सबैलाई पपिरपत्र गर्ने निर्णय भएको छ,’ उनले भने ।

ganesh khatiwada

बैठकले दरबन्दी मिलान सुझाव समितिले दिएको सुझावको आधारमा शिक्षा महाशाखाले गृहकार्य गरेर समिति बैठकमा पेश गर्ने पनि निर्णय गरेको छ । आगामी शैक्षिक सत्रको शुरुवातमा नै दरबन्दी मिलान गर्ने गरि गृहकार्य हुने पनि उनले बताए । यस्तै, धरानमा केही विद्यालयहरु स्वीकृति नलिई सञ्चालन गरेकोले ३५ दिनभित्र स्वीकृतिको प्रक्रियामा आउन सुचना जारी गर्ने पनि बैठकले निर्णय गरेको खतिवडाले बताए । उनका अनुसार धरान ११ स्थित अटिज्मका विद्यार्थीहरु पढ्ने स्पेशल एजुकेसन सेन्टर, धरान १३ स्थित इमानुयल स्कुल र धरान १२ को ब्लोसम मन्टेश्वरीलाई दर्ता प्रक्रियामा आउन सुचित गर्ने निर्णय भएको छ ।

यसैगरि, सोही बैठकले सामुदायिक विद्यालयले लिइरहेको आर्थिक सहयोग सम्बन्धमा र संस्थागत विद्यालयबाट प्रस्ताव भएको शुल्क सम्बन्धको एजेण्डामा भने निर्णय गरेन । दुवै एजेण्डाबारे बैठकले थप गृहकार्य गर्ने निर्णय गरेको महाशाखा प्रमुख खतिवडाले जानकारी दिए । यस्तै, नगर शिक्षा समितिमा १ जना महिला प्रअ मनोनयन गर्ने व्यवस्था अनुसार धरान वडा नं २० स्थित सुलिकोट विद्यालयकी प्रअ समित्रा तामाङलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको पनि खतिवडाले जानकारी दिए । 

यसैगरि, आइईएमआईएस अद्यावधिक नगरेका र अनुमति लिएको भएपनि हाल सञ्चालनमा नआएका विद्यालयलाई सञ्चालन गर्न वा बन्द गर्न परिपत्र गर्ने निर्णय बैठकले गरेको छ । धरान ७ स्थित बुढासुब्बा इंलिस बोर्डिङ स्कुल, धरान ६ स्थित होम एकेडेमी र धरान ११ स्थित विद्यासागर इङ्लिस बोर्डिङ स्कुल हाल सञ्चालनमा नरहेको शिक्षा महाशाखाले जनाएको छ ।

भिडियो: