धरान: धरानमा भानुचोकसहित मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङको पनि शुल्क लाग्ने भएको छ ।

धरान उपमहानगरपालिकाले कार्तिक २४ गते (हिजो) देखी लागू हुने गरि निजी क्षेत्रलाई पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता गरेको छ । सम्झौता बमोजिम अब मोटरसाइकल र स्कुटर पार्किङ गर्दा १० रुपैयाँ शुल्क तिर्नु पर्नेछ । हालसम्म धरानको बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङ नि:शुल्क थियो ।

मोटरसाइकल र स्कुटर पार्किङको ठेक्का धरान १६ स्थित लिङ्थेप एण्ड को-कन्स्ट्रक्सनले ठेक्का पाएको छ । यस्तै, निजी साना/हलुका सवारी साधनको शुल्क २५ रुपैयाँ तोकिएको छ । यस्तै, प्रीन्सा निर्माण सेवा लामा टोल-७ मोरङले सार्वजनिक टेम्पो, अटोरिक्सा, कार, मारुती भेन, बस, माइक्रो, बुलेरो लगायतको पनि शुल्क तोकेर उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको सुचना अनुसार भानुचोकदेखी सिद्दिचरण मार्गसम्म (महेन्द्र पथ), भानुचोकदेखी भौडीसम्म(देशीलाईन), भौडीदेखी कैलाशपथ, त्रिभुवन पथ हुँदै सिंहदेवी चोकसम्म, चतरालाइन (नगरपालिका छेउको खहरे) देखि छाताचोक हुँदै सिंहदेबी चोकसम्म मोटरसाइकल र स्कुटरलाई पार्किङ शुल्क लाग्ने भएको छ ।

यसैगरी रत्न रोड, गीता मन्दिर लाइन, भानुचोकदेखी सैनिक चोकसम्म (पुतलीलाइन), कलेज रोड (महेन्द्र पथदेखी गौतम पथसम्म), गौतम पथदेखी (कलेज रोडदेखी पुतलीलाइनसम्म) र नरेन्द्र पथ(लुप)मा पनि मोटरसाइकल र स्कुटर पार्किङको शुल्क लाग्ने भएको हो ।

मोटर साइकल र स्कुटरको पनि पार्किङ शुल्क लाग्ने भएपछि अहिले सामाजिक सन्जालमा स्थानीय सरकारको आलोचना भैरहेको छ । तिहारमा जनतालाई स्थानीय सरकारको उपहार भन्दै आलोचना भईरहेको हो । जनतालाई राहत दिनुपर्नेमा कर थोपरेको भन्दै आलोचना भइरहेको छ । 

यसैबिच, उपमेयर अइन्द्र बेघाले सामाजिक सन्जालमार्फत कार, जीप, भेन, टेम्पो, सिटीलगायतको शुल्क बढाएको नभै घटाएको दाबी गरेका छन् । उनले बार्षिक शुल्क असोजभित्रै एकमुष्ट बुझाए छुटको व्यवस्था गरिएको पनि जनाएका छन् । तर उनले मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क बारे भने उल्लेख गरेका छैनन् ।

IMG-20231111-WA0011

IMG-20231111-WA0012